रामेश्वर मेहता, सिम्रौनगढ, १९ माघ/
तामागढी–सिम्रौनगढ सहयोग तथा मुआवजा सङ्घर्ष समिति, बाराले शुक्रवार सिम्रौनगढ नगरपालिकामा दबाबमूलक जुलूस प्रदर्शन गरेको छ ।
सिम्रौनगढ बसपार्कबाट निस्केको जुलूसमा सहभागीहरूले ‘जग्गाको मुआवजा ब्याजसहित दिनुपर्ने’, ‘नालायक सरकार मुर्दाबाद’लगायतका नारा लगाउँदै सिम्रौनगढ बजार परिक्रमा गरी बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा सङ्घर्ष समितिका सचिव रामानन्द चौधरी, ढुण्डीराज उप्रेती, महेन्द्र जयसवाल, मनेजर चौधरी, जगदेव चौधरी, रामबाबू साह तेलीलगायतले मुआवजाको माग गर्दै सरकारको आलोचना गरेका थिए । उनीहरूले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
सङ्घर्ष समितिका अध्यक्ष अनवर अन्सारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शङ्कर मैनालीले गरेका थिए ।
तामागढी–सिम्रौनगढ सडकखण्डमा स्थानीय डेढ हजार किसानको ७० बिघा जग्गा परेको र उनीहरूले हालसम्म पनि मुआवजा नपाएको समितिका सचिव रामानन्द चौधरीले बताए ।