प्रस, परवानीपुर, १५ मङ्सिर/
पर्साको उत्तरी क्षेत्रमा तोरीखेती हुने गरेको छ। सोमध्ये पनि ठोरी गाउँपालिकाको वडा नं ३, ४ र ५ तोरीखेतीको लागि नाम चलेको छ।
यस क्षेत्रका बासिन्दाहरूको लागि  मुख्य नगदेबाली तोरी भएकोले पनि तोरीखेतीतर्फ किसानको लगाव विगतदेखि नै रहिआएको छ। बारी र आफ्नै गोठको मल खेतमा हालेर कम खर्चमा बढी आयआर्जन गर्ने तेलहनखेती तोरीतर्फ पर्साको ठोरी गाउँपालिका र पर्साका उत्तरी क्षेत्रका किसानको आकर्षण बढ्दै गएको हो।
यसपालि पर्सामा करीब १७ सय बिघा क्षेत्रफलमा तोरीखेती गरिएको किसानहरूले बताएका छन्। पर्सामा तोरीखेती पाकेट क्षेत्रको रूपमा ठोरी गाउँपालिकालाई चिनिन्छ। ठोरीका तीनवटा वडाका विभिन्न क्षेत्रमा यतिबेला तोरी फुलेर पहेंलै भएको देखिन्छ। वडा नं ५ का सुवर्णपुर, बाघमोर्र्चा, बथेटोल, गडुवालाइन, क्षेत्रीलाइन, गुम्बालाइनमा व्यापक तोरीखेती गरिएको ठोरी–५ सुवर्णपुरका बलराम कोरमोचा (मगर)ले बताए। उनका अनुसार तोरीखेतीमा  सिंचाइ गर्नु नपर्ने र गोठको मल वा बोटबिरुवाका पत्कर हालेपछि रासायनिक मल हाल्नुपर्ने चिन्ता नभएकोले किसानको आकर्षण बढ्दै गएको बताए।
त्यसैगरी, ठोरी वडा नं ४ का गोपीबस्ती, विजयबस्ती, फारी लाइन, निर्मलबस्ती, मालीबस्ती, शिकारीबास, स्याउली बजार र वडा नं ३ का नयाँबस्ती, ब्रह्मनगर, बुद्धनगरलगायतका क्षेत्रमा तोरीखेती फस्टाएको छ। ठोरीमा मात्रै करीब एक हजार बिघा क्षेत्रफलमा तोरीखेती हुने गरेको साबिक निर्मलबस्ती गाविसका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए।
ठोरीसँगै सीमा जोडिएका जीराभवानी गाउँपालिका, सोभन्दा यता पटेर्वासुगौली, सखुवाप्रसौनी, पर्सागढी र वीरगंज महानगरका केही क्षेत्रका समेत करीब ७ सय बिघा क्षेत्रफलमा तोरीखेती हुने गरेको तथ्याङ्क छ। बितेको वर्ष तोरी प्रतिकिलो ७० देखि ८० रुपैयाँसम्ममा कृषकको घरबाटै बिक्री भएको थियो।  यसपालि तोरीको भाउ बढ्ने किसानको विश्वास छ।
तोरीखेती गर्दा घर खर्चको लागि खानेतेलको जोहो गर्नुपर्दैन भने मसलाको लागि पनि काम लाग्छ। बढी उत्पादन गर्ने किसानले तोरी बेचेर नगद आर्जनसमेत गर्छन्।
यहाँ तोरीखेतीमा रासायनिक मल प्रयोग गर्ने किसानहरू पनि छन् तर ठोरी–५ सुवर्णपुरका किसानहरूले भने कुनै पनि बालीमा रासायनिक मल प्रयोग नगर्ने हुँदा तोरीमा पनि रासायनिक मल प्रयोग नगरी गोठको प्राङ्गारिक मल प्रयोग गर्छन्।
गोठे मल अर्थात् प्राङ्गारिक मल प्रयोग गरेका किसानले बितेका वर्षहरूमा प्रतिकट्ठा ५५ किलोसम्म तोरी उत्पादन गरेको बताएका छन्। अन्य क्षेत्रका रासायनिक मल प्रयोग गर्ने किसानले भने कट्ठामा ३५ किलोसम्म तोरी उत्पादन गर्ने गरेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ।
रासायनिक मल प्रयोग गर्नेहरूले पनि अन्य बालीमा जस्तो तोरीमा धेरै मल प्रयोग गर्दैनन्। उनीहरूले तोरीखेतीमा प्रतिकट्ठा डेढ किलो डिएपी, डेढ किलो युरिया र एक किलो पोटास हाल्छन्। तोरीखेतीतर्फ किसानको बढ्दो उत्साहको कारण बितेको वर्षभन्दा यस वर्ष तोरीखेतीको क्षेत्र करीब दुई सय बिघा वृद्धि भएको ठोरीका किसानहरूले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here