प्रस, वीरगंज, २५ पुस/
वीरगंज महानगरपालिकाको नगरसभाको १४ औं अधिवेशनले चालू आवको वार्षिक बजेटमा रु २५ करोड थप गर्नुका साथै विभिन्न योजना तथा कार्यक्रमहरू परिमार्जन गरेको छ । नगरसभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्था रहेका कार्यक्रम परिमार्जन गर्दै चालू आवको बजेट थप गरेको हो ।

अधिवेशनले विनियोजन ऐन २०८० मा समावेश भएको चालू आव २०८०/०८१ को वार्षिक बजेट तीन अर्ब २१ करोडमा २५ करोडबाट बढाएर तीन अर्ब ४६ करोड पु-याएको हो । अधिवेशनले खानेपानीका लागि महानगरवासीको चार हजार घरधुरीमा धारा जडान गर्न रु ८० लाख छुट्याएको नगरप्रमुख राजेशमान सिंहले बताए । त्यस्तै उनले भारतीय महावाणिज्य दूतावाससँग सहकार्यमा महानगरका चार हजार घरधुरीमा धारा जडानका लागि थप बजेट छुट्याइएको बताए । दूतावासको ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानीमा धारा जडान कार्य अघि बढाउन बजेटमैं संशोधन गरेर महानगरले भुक्तानी गर्नुपर्ने २० प्रतिशत रकम विनियोजन गरेको उनले बताए ।

नगरसभामा नगरप्रमुख सिंहले विभिन्न विधेयक पेश गरेका थिए । वीरगंज महानगरसभाको कार्य सञ्चालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं संवद्र्धन विधेयक, सङ्घसंस्था दर्ता तथा नियमनसम्बन्धी विधेयक पेश गरिएको थियो । बस्ती विकास, शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजतसम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयक पनि पेश गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले आवश्यक कानून अभावमा काम गर्न असहज भएकोले सभामा विधेयक पेश गरेको बताए । नगरसभामा उपमेयर इम्तियाज आलम, नगरसभा सदस्यहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here