महोत्तरी, २२ पुस/रासस
नजीकिंदो तीलासक्रायत (माघेसङ्क्रान्ति) कसरी टारौँ भन्ने सोचेर जिङ्राएका यहाँका उखु उत्पादक किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज (बोलिचालीमा एभरेष्ट चिनी उद्योग) ले यही पुस १६ गतेसम्म तौल भएको उखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत मिलेको हो ।
गत मङ्सिर २६ गते यसपालिको यामको तौल खोलेर पुस ४ गते चिनी उत्पादन थालेको उद्योगले यस अवधिमा तौल भएको उखुको पूरै भुक्तानी दिएको छ । गत सोमवारसम्म तौल भएको करीब पाँच लाख क्विन्टल उखुको भुक्तानी उद्योगले किसानलाई उपलब्ध गराएको हो । यस्तो भुक्तानी पाउने महोत्तरीबाहेक अन्य जिल्लाका किसान पनि छन् । पहिलो चरणमा रु १९ करोडभन्दा बढी रकम भुक्तानी गरिएको उद्योगले जनाएको छ ।
“रमाइलो गरी मनाइने तिलासक्रायत पर्व के गरी टारौं भन्ने थियो, त्यस्तै गहुँखेती र अन्य चैतेबाली लगाउँँदाको खर्च तिरोतारोको धौधौ परेका बेला उखुको रकम पाइयो”–पहिलो चरणको उखुको भुक्तानी पाएपछि राहत महसूस गरेका भङ्गाहा–४ का किसान हीरालाल महतोले बताए । पछिल्ला दुर्ई–तीन वर्षयता भुक्तानी क्रमशः सहज बन्दै आएपछि यस भेगमा उखुखेती फेरि बढ्दै गएको छ ।
जिल्लाकै गौशाला–१० लक्ष्मीनियाका किसान अरुण कुशवाहाले पनि ठीक समयमा भुक्तानी पाइँदा घरव्यवहार मिलाउन सजिलो भएको बताए । “विगतमा उखुको भुक्तानी पाउन झन्डै वर्ष दिन कुर्नुपथ्र्याे”–कुशवाहा भन्छन्– “अहिले दुर्ई साताभित्रै भुक्तानी भएको छ ।” उद्योगले भुक्तानी सहज बनाएपछि किसान फेरि उखुखेतीतिर हौंसिएका उनको भनाइ छ ।
विसं २०७२ सम्म महोत्तरीमा १८ हजार बिघासम्म पुगेको उखुखेती कहिल्यै समयमा भुक्तानी नपाएर किसानले दिक्क भएर छाड्दै जाँदा २०७५ सालमा यो खेती पाँच हजार बिघामा झरेको थियो । त्यस यता किसान, किसानसम्बद्ध उखु उत्पादक कृषक सङ्घ, महोत्तरी र उखु उत्पादक महासङ्घलगायतको निरन्तर सङ्घर्षको परिणमस्वरूप पछिल्ला दुर्ई/तीन वर्षयता क्रमशः भुक्तानी सहज बन्दै गएपछि फेरि उखुखेती अलिअलि गरेर बढ्दै गएको उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहा बताउँछन् ।
जिल्लामा यसपाली उखुखेती सात हजार बिघाभन्दा बढीमा रहेको कुशवाहाको भनाइ छ । दुर्ई साता नबित्दै तौल भएको उखुको पूरै भुक्तानी पाएपछि किसान र उद्योगबीच विश्वास तथा भरोसा दुवै बढेको किसान बताउँछन् । उद्योगप्रति बढेको विश्वासले अहिले सर्लाही, रौतहट, बारा र धनुषाका किसानले पनि एभरेष्ट चिनी उद्योगलाई उखु दिन थालेका छन् ।
सर्लाहीको कविलासीका किसान राजनारायण महतोले पोहोरदेखि नै एभरेष्ट चिनी उद्योगले भुक्तानी सहज बनाएको प्रतिक्रिया दिए । “हामी सर्लाहीका किसानले गत वर्ष यहाँबाट चाँडै भुक्तानी पाएका थियौं र यसपाली पनि यही उखु दिन आयौं”–उनी भन्छन्–“यसपाली त झन हाताहाती नै जस्तो भुक्तानी भएको छ ।” अब उखुखेती बढाइँदै लगिने कुशवाहाको भनाइ छ ।
उद्योगले भुक्तानी सहज बनाएसँगै आपूmहरूका गुनासा सुन्ने, कटान पूर्जी वितरण सरल बनाउने, उद्योग परिसरमा उखु तौलाउन पुगेका किसान र सवारीसाधनको व्यवस्थापन तथा परिसरभित्र खानेपानी र शौचालयको व्यवस्थापनमा पनि उद्योगले यथाशक्य प्रबन्ध गर्दै लगेको किसान बताउँछन् ।
आठ वर्ष पहिले २०७२ मा ५८ लाख क्विन्टलसम्म उखु क्रसिङ गरेको उद्योगमा उखु घट्दै गएर गत वर्ष २६ लाख क्विन्टलमा झरेको थियो । यसपाली गत वर्षभन्दा चार लाख क्विन्टल क्रसिङ बढ्ने उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाको भनाइ छ । बाह्य मुलुकबाट चिनी आयात नगरिए मुलुकमैं उत्पादित चिनी बिक्ने र यसले किसानको भुक्तानीमा अझ सहजता ल्याउने शुक्ला बताउँछन् ।
यसपाली उद्योगले किसानलाई सरकारले तोके अनुसार प्रतिक्विन्टल उखुको रु ५६५ दिंदैछ । किसानले पाउने प्रतिक्विन्टल रु ६३५ मध्ये रु ७० सरकारी अनुदान र रु ५६५ उखुको मूल्य भन्ने सरकारले स्पष्ट पारेको छ । भुक्तानी सहज भए पनि उखु किसानका बिलौना भने अझै छन् । उखुको मूल्य निर्धारणमा सरकारले आपूmहरूको मर्का नबुझेको किसान र किसानसम्बद्ध संस्थाका प्रतिनिधि बताउँछन् ।
“उद्योगले क्रमशः भुक्तानी सहज बनाउँदै लगेको छ, यो सन्तोषकै कुरा छ”–उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा भन्छन्–“तर मूल्य निर्धारणमा हामी ठगिएका छौं ।” सरकारले उखुको मूल्य निर्धारण गर्दा चिनीको मूल्यवृद्धि अनुपात र खेतीको लागत ख्यालै नगरी हचुवाको भरमा गरेको उनको गुनासो छ । यसपाली रु ७५० प्रतिक्विन्टल उखुको मूल्य पाउनुपर्ने किसानसम्बद्ध सङ्घसंस्थाले माग गर्दै आए पनि सरकारले आपूmहरूको रोदनको केही वास्तै नगरेको कुशवाहाको गुनासो छ ।