प्रस, वीरगंज, २१ पुस/
नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाको ३४औं सभा शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरिया नपाकी उपप्रमुख रूबी ठाकुरले रेडक्रस विशुद्ध सामाजिक संस्था भएकोले नपाले आवश्यक सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरिन् । उनले सबैखाले विपत्तका बेला रेडक्रस सबैभन्दा पहिले पुगेर राहत प्रदान गर्ने गरेको चर्चा गरिन् । उनले संस्थाका लागि जग्गाको व्यवस्थापन गर्न आफूले सहयोग गर्ने बताइन् । शाखा सभापति भगवान कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वनगरप्रमुख दीपनारायण रौनियार, पूर्वउपप्रमुख सालमा खातुन, एमाले नगर अध्यक्ष विन्ध्याचल ठाकुर, ललन द्विवेदी, गोवद्र्धन यादव, नेपाल रेडक्रस सोसाइटी, पर्सा शाखाका उपसभापति भगवती चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा २०७९/८० को आय–व्यय विवरण कोषाध्यक्ष विनोद गिरीले प्रस्तुत गरेका थिए ।
यसैगरी, नेरेसो, राधेमाई महिला उपशाखाको वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । नेरेसो, पर्साकी उपसभापति मधु राणाले साधारणसभाको उद्घाटन गरेकी थिइन् । उपशाखा सभापति पवित्रा गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा वीणा चौलागाईंले प्रगति प्रतिवेदन, मञ्जु चालिसेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा वडाध्यक्ष हीरा गिरी, डा गोपाल गजुरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा १५ जना असहाय वृद्धालाई कम्बल वितरण गरिएको थियो । यसैगरी, रञ्जीता सिंह र बसिर मियाँलाई प्रमुख अतिथि राणाले सम्मान गरेको सचिव उर्मिला गिरीले बताइन् । कार्यक्रममा नीता झा, गुड्डीकुमारी, निर्मला भण्डारी, विद्या राजभण्डारी, माया गजुरेललगायतको सहभागिता थियो ।