प्रस, रौतहट, २० पुस/
दुर्गाभगवती गाउँपालिका–५ का बासिन्दाले पुल बनाउन माग गर्दै गौर– चन्द्रनिगाहपुर सडकखण्डको बम नहरमा बुधवारदेखि गरेको चक्काजाम सहमतिपछि खुलेको छ ।
शुक्रवार सडक विभाग र स्थानीयबीच सहमतिपछि दुर्ई दिनदेखि अवरुद्ध गौर–चन्द्रनिगाहपुर सडकखण्डमा यातायात सञ्चालन भएका छन् । सडक विभागले शनिवारदेखि बाग्मती नदीमा पुल निर्माण सुचारु गराउने प्रतिबद्धता गरेसँगै गौर–चन्द्रपुर सडकखण्डको बम नहरमा अवरुद्ध सडक शुक्रवार दिउँसो १ बजेदेखि सुचारु भएको हो ।
प्रदेश सांसद नागेन्द्र साहको नेतृत्वमा बुधवार दिउँसो १ बजेदेखि दुर्गाभगवती, यमुनामाई, राजपुरका स्थानीयहरू गौर–चन्द्रपुर सडकखण्डको बम नहरको बाटो अवरुद्ध गरी धर्नामा बसेका थिए ।
सडक विभागका महानिर्देशक सुशीलबाबू ढकालको अध्यक्षतामा हुलाकी राजमार्ग आयोजना निर्देशनालय, सडक विभाग पुल महाशाखालगायतका सम्बद्ध सरोकारवाला निकायका प्रमुखहरू सहभागी बैठकले बाग्मती (बडहर्वा) पुल निर्माण कार्यको एक्जेस्टिङ स्ट्रक्चर भेरिफिकेशनको कार्य पुस २१ देखि शुरू गरेर सात दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
पुस १९ गते भएको प्रस्तावित डिजाइन अनुसारको निर्माण कार्य निर्माण व्यवसायीद्वारा अविलम्ब सुरुआत गर्ने, पुलको रिभ्युड डिजाइन ड्रइङ अविलम्ब स्वीकृतिका लागि सडक विभागमा पेश गर्ने सहमति भएको थियो । गत बुधवारदेखि १५ दिनभित्र साइटमा निर्माण कार्य नभएमा तथा साइटमा मोबिलाइज नभएमा नियम अनुसार ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउने छ बुँदे निर्णय भएको सडक विभागले जनाएको छ ।
शुक्रवार भएको दुई पक्षीय छलफलका क्रममा विभागको आधिकारिक निर्णयलाई जिल्ला प्रशासन कार्यालय, रौतहटका प्रशासकीय अधिकृत मणिभूषण साहले वाचन गरेर सुनाएका थिए । उक्त अवसरमा प्रदेश सांसद तथा काङ्ग्रेस जिल्ला सभापति सुनीलकुमार यादव, प्रदेश सांसद नागेन्द्र साह, रौतहट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दन झा, दुर्गाभगवती गापा अध्यक्ष शम्भु सिंहलगायत धर्नामा स्थानीयवासीको सहभागिता थियो ।