प्रस, वीरगंज, १६ पुस/
बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीमा रोक लगाएको छ । करीब एक दशक बढी भयो बिहारमा मदिरामाथिको प्रतिबन्ध । यो क्रममा बिहारबाट भारतीयहरू नेपाली सीमा क्षेत्रमा आएर मदिरा सेवन गर्ने र अत्यधिक मदिरा सेवन तथा मदिरा सेवन गरी सवारीसाधन चलाएर दुर्घटनामा परेर मर्ने मानिसहरूको सङ्ख्या बढिरहेको छ ।
सीमावर्ती भारतको रक्सौल लगायतका क्षेत्रबाट आउने भारतीयहरूले अत्यधिक मदिरा सेवन गरी सवारी दुर्घटनामा परी ज्यान गुमाउने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक भाष्कर खतिवडा बताउँछन् । आफ्नो हितैसी, बिहेबारी, चाडपर्वमा भारतीयहरू नेपाल प्रवेश गर्ने र मदिरा सेवन गरेर तीव्र गतिमा सवारीसाधन चलाउने गरेकाले दुर्घटनाको शिकार हुने गरेको उनले बताए । एक साताअघि बिहार, मोतिहारी, ढाका निवासी एक युवक पर्सा जिल्ला ससुराली आएर अत्यधिक मदिरा सेवन गरी सुक्खा बन्दरगाहनजीकको खोलामा डुबेर मृत्यु भएको घटना सेलाउन नपाउँदै हिजो आइतवार पर्सा जिल्लामा ससुराली आएका अर्का एकजना युवक गण्डक नहरको पुलमा ठोक्किएर मृत्यु भएको छ ।
प्रनि खतिवडाले रक्सी पिउन आएका भारतीयहरू प्रहरीको डरले सीधा बाटो नगई चोर बाटोबाट जाने गरेका र सो क्रममा दुर्घटना भएर आफ्नो ज्यान गुमाउने तथा अर्काको ज्यान लिने गरेको बताए । उनले यस प्रकारका दुर्घटना नियन्त्रणका लागि ट्राफिक चिह्नहरू पुलहरूमा राख्न लागिएको बताए । उनले एक वर्षको अवधिमा सवारी दुर्घटनाबाट पर्सामा २३ जनाको मृत्यु भएको बताए । राजमार्गमा दुई, शहरी सडकमा एक र बाँकी २० जनाको ग्रामीण क्षेत्रका सडक दुर्घटनामा मृत्यु भएको उनले बताए ।