प्रस, परवानीपुर, १४ पुस/
मध्य तराईमा बढ्दो शीतलहरको कारण यहाँको जनजीवन कष्टकर भएको छ । शुक्रवार साँझदेखि चलेको पश्चिमी हावाका कारण हिजो रातिदेखि बढेको चीसोले शनिवार पनि दरिलो डेरा जमाएको छ । चीसो बढेको कारण सर्वसाधारण एवं दैनिक ज्यालादारी गर्ने मजदूरलाई असर गरेको छ ।
पुसको पहिलो सातादेखि नै चीसो बढ्ने अनुमान गरिए तापनि अहिले पुसको दोसं्रो साता लागेपछि चीसो बढेको छ । आज पर्सा र बारा जिल्लामा अधिकतम २६ डिग्री र न्यूनतम ११ डिग्री मापन गरिएको प्रादेशिक कृषि निर्देशनालय परवानीपुरस्थित हावापानी तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
शनिवार हावामा पानीको मात्रा ६६ प्रतिशत रहेको छ भने आगामी एक सातासम्म चीसो अझै बढ्ने सो शाखाले अनुमान गरेको छ । यस अवधिमा न्यूनतम तापक्रम नौ र अधिकतम तापक्रम २५ डिग्री सेल्सियस हुने शाखाको पूर्वानुमान छ ।