राधेश्याम पटेल, परवानीपुर, ८ पुस/
पर्साको पटेर्वासुगौलीको सामाजिक क्षेत्रमा चौतर्फी विकासको उद्देश्यले सञ्चालनमा रहेको स्थानीय अधिकार अभियानको सकारात्मक नतीजा देखिन थालेको छ । एक्शन एड नेपालको आर्थिक सहयोग एवं दिव्य विकास स्रोत केन्द्र पर्साको सहजीकरणमा सञ्चालनमा रहेको स्थानीय अधिकार अभियानको कार्यक्रमले पटेर्वासुगौलीका १ देखि ५ नम्बरका वडावासीमा सकारात्मक परिमाण दिन थालेको जिल्लास्तरीय अनुगमन टोलीले बताएको छ ।
जिल्ला समन्वय समिति, पर्साका सभापति अजयप्रसाद साह सोनार नेतृत्वको टोलीले गरेको अनुगमनमा यस्तो नतीजा देखिएको हो । तत्कालीन दिव्य युवा क्लब हालको दिव्य विकास स्रोत केन्द्रले सन् २०१८ जूनदेखि सन् २०२७ डिसेम्बरसम्म ग्रामीण भेगको उक्त पालिकाको सामाजिक क्षेत्रको उत्थानको लागि लगानी गरिरहेको छ । छ वर्षको अवधिमा संस्थाले करीब सात करोड रुपैयाँ लगानी गरेको दिव्य विकास स्रोत केन्द्रका प्रमुख रामाकान्त पटेलले बताए ।
संस्थाले महिला सशक्तिकरण, जीविकोपार्जन, शिक्षा, विद्यालय व्यवस्थापन एवं विद्यालयको भौतिक पूर्वाधार विकास निर्माणको क्षेत्रमा लगानी गरेर समाज विकास गर्न खोजेको प्रमुख पटेलले बताए । हरेक वर्ष संस्थाले सो पालिकाका पाँचवटा वडामा करीब डेढ करोड लगानी गरिरहेको छ । महिला सशक्तीकरणको क्षेत्रमा महिला, एकल महिला, किशोरीहरूलाई विभिन्न समूह बनाएर सशक्तीकरण गर्ने कार्य अघि बढेको छ भने शिक्षाको क्षेत्रमा विद्यालयमा गुणस्तरीय शिक्षा प्रवाह गर्न प्रधानाध्यापक तथा शिक्षकहरूलाई विद्यालय सुधार योजनाको लागि तालीम एवं अन्य व्यवस्थापकीय कार्यको लागि प्राविधिक सहयोग गरिरहेको प्रमुख पटेलले बताए ।
त्यसैगरी, जीविकोपार्जनको क्षेत्रमा १६ वटा समूहमा ४८० जनालाई आबद्ध गरी हरेक समूहबाट एकजना महिलालाई रु २५ हजारको दरले सहयोग रकम प्रदान गरी पसल, तरकारीखेतीलगायत आयआर्जन हुने कार्यमा सहयोग गरिएको छ । जसले गर्दा विदेशबाट फर्किएका र गाउँमैं अन्य रोजगारको लागि स्रोतसाधनको पर्खाइमा बसेका गाउँलेलाई सहयोग पुगेको छ । आत्मनिर्भर बन्ने अवसर संस्थाले दिएको गाउँलेहरूले बताएका छन् । १६ वटा महिलाहरूको समूहको लागि घुम्ती कोष स्थापना गरिएको छ । हरेक कोष खडा गर्न सुरुआती चरणमा रु २० हजार सहयोग संस्थाले गरेको छ । पटेर्वासुगौलीका तीन स्थानमा महिला सामुदायिक भवन र चार ठाउँमा महिला शौचालय निर्माण गरिएको छ । सो पालिका अन्तर्गत शौचालय नभएका विद्यालयमा शौचालय निर्माण र व्यवस्थापन खर्च उपलब्ध गराइएको छ । पालिकाका १४ वटा बालविकास केन्द्रलाई हराभरा बनाउन वृक्षारोपण गरिएको छ । कार्यक्रम सञ्चालनले महिला, पुरुष, एकल महिला, किशोरकिशोरी गरी १६/१७ जनालाई स्थानीय अधिकार अभियानमा जोडिएको छ । अनुगमन टोलीले स्थानीयस्तरमा रोजगार सिर्जना गर्न र गरीब विपन्नलाई आत्मनिर्भर बनाउन केन्द्रले सञ्चालन गरेको कार्यक्रमको प्रशंसा गरेको छ ।