ओमप्रकाश चौधरी, सेढवा, ६ पुस/
पर्साको ग्रामीण भेगका किसानहरू यतिखेर गहुँबालीको सिंचाइ गर्न व्यस्त छन् ।
विशेषगरी गण्डक नहरभन्दा उत्तरतर्फ थरुहट क्षेत्र जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका किसानहरू गहँुबालीमा सिंचाइ गर्न व्यस्त छन् ।
किसानहरूले बाँधपैनीको पानी तथा भूमिगत सिंचाइ अन्तर्गत दमकल र वाटरपम्पको प्रयोग गरी सिंचाइ गरिरहेका छन् । गहँुको बीउ छरेको २१ दिनदेखि २५ दिनमा सिंचाइ गर्ने गरिन्छ । यहाँका किसानहरू सिंचाइमा लागे पनि रासायनिक मल युरियाको अभाव झेलिरहेका छन् । कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले स्थानीय कृषि सहकारी संस्थालाई आवश्यकता अनुसार मल उपलब्ध नगराउँदा अहिले किसानहरू भारतीय बजारबाट मल खरीद गरेर गहुँबाली सपार्नतिर लागेका छन् । अहिले किसानहरू भारतीय बजार भङ्गाहा, इनर्वा, मैनाटार, सिकटा तथा भेलाहीबाट युरिया मल खरीद गर्दै आएका छन् ।
सखुवाप्रसौनी गापा–१ का अध्यक्ष बृजकिशोर पञ्जियारले गहुँबालीको बेलामा पनि मलको अभाव झेलिरहेको बताए । उनले नेपाली मल समयमा नपाएको कारण आवश्यकता अनुसार भारतीय बजारबाट युरिया मलको अभाव किसानहरूले पूरा गरिरहेका छन् । उनले पालिकामा अहिलेसम्म मल वितरणका लागि परिपत्र नआएका कारण मल वितरण हुन नसकेको बताए ।
जीराभवानी गापा–२ सेढवास्थित मारुती नन्दन कृषि सहकारी संस्थाका अध्यक्ष सत्यनारायण साहले मङ्सिर १५ गते सवा सय बोरा मल आएको र त्यसपछि मल नआएको बताए । उनले मल आएको खण्डमा वितरण गरिने बताए । कृषि सामग्री कम्पनीले हालै एक/दुई दिनअघि कम्पनीमा ८१ हजार बोरा मल सञ्चित रहेको जनाएको थियो । तर कम्पनीको गोदाममा मल रहे पनि सहकारीलाई बिक्री वितरण नभएकाले किसानहरूले मल पाउन सकेका छैनन् ।