प्रस, रौतहट, ६ पुस/
चित्रगुप्त समिति, रौतहटको जिल्ला अधिवेशनको समय निर्धारण भएपछि यहाँको कायस्थ सामुदायमा चहलपहल बढेको छ ।
यही पुस १५ गते उम्मेदवारी दर्ता हुने तथा २१ गते मतदान हुने समय तोकिएकोले कायस्थ समुदायमा चहलपहल बढेको हो ।
२०५७ सालमा गठन भएको चित्रगुप्त समितिको अध्यक्ष पदको लागि आकाङ्क्षी एक दर्जनभन्दा बढी रहेको विनयलाल दासले बताए ।
वर्तमान अध्यक्ष गङ्गाधर वर्मा, सञ्जय कर्ण, मनोज निधि, राधेश्यामलाल कर्णलगायत अध्यक्ष पदका लागि एक दर्जन आकाङ्क्षीहरू छन् ।
आफ्नो पक्षमा मतदातालाई रिझाउन उम्मेदवारहरू घरघरमा पुगेर भेट्ने तथा टेलिफोनमार्फत आग्रह गरिरहेका छन् ।
समितिमा ८४५ जना मतदाता छन् । कायस्थ सामुदायको पुख्र्यौली पेशा लेखापढी हो ।
कायस्थ समुदाय १२ भागमा विभाजित छन् । कर्ण, श्रीवास्तव, निगम, कुलश्रेष्ठ, अम्बष्ठ, माथुर, अस्थाना, गौड, सूर्यध्वज, वाल्मीकि, भटनागर, सक्सेना हुन् ।
इतिहासमा विसं २६० कार्तिक शुल्कपक्ष पूर्णिमाको दिन राजा मानदेवको पालामा भक्तपुर खौमा टोलमा बसोवास गर्ने कायस्थ नामका रतन्कार सिंहले चागु नारायणमा आफ्नो छोरा रामजन सिंहको दीर्घायु र सुख आनन्दको कामना गर्दै सुनको जलप लगाएको र तामाको कलश एक जोड चढाएका थिए । कायस्थहरू सृष्टिकर्ता ब्रह्माका मानस पुत्र र चित्रगुप्तका सन्तान मानिन्छन् ।
हिन्दूहरूको वर्ण व्यवस्थामा ब्राह्मण, क्षत्री, वैश्य र शुद्रमा कायस्थहरूले छुट्टै वर्णस्थान राख्छन् । नेपालको उपत्यकामा बाटाजू, कायस्थ, कसजू, सैजु, प्रधान आदि थर लेख्ने गरिन्छ । स्कन्ध पुराणमा पनि कायस्थका सात लक्षणको वर्णन छ । विद्वान्, शुचि, दक्ष, राजभक्त, धैर्यवान्, परोपकारी, क्षमाशील, धीरा आदि छन् ।
नेपाल संवत् ४४६ मा राजनीतिमा प्रवेश गरेको पहिलो व्यक्ति भारो हुन् । कायस्थहरू सन् १०९७ मा कर्णाटकबाट बारा जिल्लाको सिम्रौनगढमा आएका मानिन्छ । विसं २०६८ को जनगणना अनुसार नेपालमा ५४ स्थानमा रहेका कायस्थ जातिको सङ्ख्या ४४ हजार ३०४ छ ।
कायस्थ सामुदायको एकजुट हुने तथा आफ्नो हकहितका लागि वकालत गर्ने संस्थाको रूपमा चित्रगुप्त समिति रहेको छ ।
कायस्थ समुदायमा परेको सङ्गटलाई जातिगतरूपमा सहयोग गर्न गठन गरिएको यस संस्थामा पनि एकरूपता नभएकोले रौतहटमा कायस्थ सामुदाय राजनीतिमा पछाडि परेका छन् ।
गौर नगरपालिकामा करीब दुई हजार मतदाता कायस्थ रहेको अनुमान गरिएको छ ।