- राजेन्द्रप्रसाद कोइराला
विवाहपञ्चमी एक हिन्दू चाड हो, जुन अग्रहायण (नोभेम्बर, डिसेम्बर)मा शुक्ल पक्षको पाँचौं दिन मनाइन्छ । यो दिन भगवान् राम र सीताको शुभविवाहको सम्झना गर्ने गरिन्छ । विवाहपञ्चमी पुरातन समयमा मिथिलानगरी भनेर चिनिने जनकपुरधाममा मनाइने गरिन्थ्यो र आजपर्यन्त यसलाई धूमधामका साथ मनाउने गरिन्छ । जनकपुरधामको आफ्नै ऐतिहासिक महत्व छ । स्थानीय समुदायमा यो पर्वलाई शुभ मानिन्छ र यसको आलोकलाई मधेस प्रदेशभरि मुख्यगरी हिन्दू धर्मावलम्बीको माझमा ग्रहण गरिन्छ र यस दिन यो प्रदेशमा बिदा दिइन्छ ।
यस पर्वको अवसरमा विश्वभरिबाट जनकपुरधाममा हजारौं भक्तजनको घुइँचो लाग्ने गर्छ । विवाह समारोहमा भाग लिन भगवान् रामको जन्मस्थल अयोध्याबाट जनकपुरधाममा बाजागाजासहित जन्ती आउने गर्छ । शोभायात्रामा गहना, लत्ताकपडा, मिठाइ, फलफूल, फूललगायतका खाद्यवस्तुहरू ल्याइएका हुन्छन् । विवाहपञ्चमी एक हप्ता अघिदेखि ठूलो हर्षोल्लासका साथ मनाइने गरिन्छ । भक्तजनहरू यस हप्ता दिनको उत्सवमा उत्साहपूर्वक सहभागी हुन्छन् । सबैभन्दा प्रतीक्षित समारोह “धनुष समारोह” हो, जुन “बार्ह बिघा मैदान”मा हुन्छ । यो विश्वास गरिन्छ कि भगवान् रामले यसै समारोहमा पवित्र धनुष तोडेर सीतालाई जितेका थिए ।
यस समारोहमा मिथिला समुदायमा मनाइने विशेष अनुष्ठान “मटकोर” र “स्वयंवर” पनि समावेश गरिन्छ । विवाह समारोहपछि राम र सीताको पहिरन लगाएका जोडीलाई सुन्दर ढङ्गले सजाइएको रथमा नगरपरिक्रमामा लगिन्छ । विवाह कसरी भयो भन्ने देखाउन सांस्कृतिक कार्यक्रम र ‘रामलीला’ आयोजना गरेर पर्वलाई थप रमाइलो बनाइएको हुन्छ । जानकी मन्दिरबाट राम र सीताका मूर्तिहरू बाहिर निकालेर गहनाले सजाइन्छ ।
विवाह पञ्चमीको अवसरमा पूरै शहरलाई दुलहीको रूपमा सजाइने गरिन्छ । जनकपुरधाम घुम्नको लागि यो उपयुक्त समय हो । यस समय वरपरको मौसम उत्कृष्ट हुन्छ र आगन्तुकहरूले शहरको सांस्कृतिक पक्षको अवलोकन गर्ने मौका पनि पाउँछन् ।
विवाहपञ्चमी देशभरि राम र सीताको पूजा–आराधना गरी मनाइन्छ तर जनकपुरधामको कुरै अलग्गै छ । पौराणिक कथा अनुसार त्रेतायुगमा यसै दिन भगवान् राम र देवी सीताको विवाह भएको थियो ।
विवाह समारोहको सम्पूर्ण तयारी पूरा गरिसकेपछि विवाह समारोह आयोजना गर्न जनकपुरधामको बा¥ह बिघा रङ्गभूमिको सरसफाइ गरिन्छ । महोत्सवमा सहभागी हुन विभिन्न ठाउँबाट आउने भक्तजनलाई बस्न विभिन्न ठाउँमा पाल टाङ्गिएका हुन्छन् । तथापि ठाउँको व्यवस्थापनाको कमीले धेरै तीर्थयात्री मन्दिर परिसर, फूटपाथ, पोखरी क्षेत्र आदि खुला मैदानमा खुला आकाशमुनि बस्न बाध्य हुन्छन् । प्रदेश सरकारको फितलो व्यवस्थापन प्रत्येक वर्ष जनकपुरधाममा देखिने गरिन्छ ।
भगवान् राम र देवी सीता सबैभन्दा लोकप्रिय जोडीमध्ये एक हुन् र तिनीहरू वैवाहिक सम्बन्धमा सद्भाव, त्याग र समर्पणका लागि परिचित छन् । देवी सीताले भगवान् रामको लागि १४ वर्ष पर्खनुभयो र रामले आफ्नी प्यारी पत्नी सीतालाई मुक्त गर्न राक्षस राजा रावणसँग युद्ध गर्नुपरेको थियो । यही कारणले गर्दा हरेक मायालु दम्पतीले यिनीहरूको पूजा गर्ने गर्छन् । विवाहपञ्चमी ती व्यक्तिहरूका लागि विशेषरूपमा शुभ मानिन्छ, जसले सुखी दाम्पत्य जीवन जिउनको लागि एक उत्तम जीवनसाथीको पहिचान गर्ने लक्ष्य राख्छ ।
समारोहको ऐतिहासिक पृष्ठभूमिः
महर्षि विश्वामित्रले राजा दशरथलाई उनको यज्ञको रक्षा गर्न अनुमति दिन आग्रह गरे । राजा दशरथले अनैच्छिकरूपमा बुद्धिमान विश्वामित्रसँग सहमत भए र राजकुमार राम र लक्ष्मणलाई ऋषिसँग जान अनुमति दिए । महर्षि विश्वामित्रले आफ्नो यज्ञ सफलतापूर्वक समाप्त गरे र राम र लक्ष्मणको साथ मिथिला फर्के । त्यस बेला मिथिलाका शासक जनकले राजकुमारी सीताको स्वयंवरको आयोजना गरेका थिए ।
शिव धनुषलाई स्वयंवरमा राखिएको थियो । सबै योग्य वरले भुइँमा राखिएको एउटा ठूलो धनुष उठाउनु र तान्नुपर्ने थियो ।
यद्यपि सहभागीहरूले त्यो भारी र ठूलो धनुष उठाउन सकेनन्, जसमा देश–परदेशबाट धेरै योग्य व्यक्तिको सहभागिता थियो । त्यसपछि ऋषि विश्वामित्रले रामलाई धनुषलाई दुई टुक्रा गर्न भने र रामले सहजै त्यो धनुषालाई दुई टुक्रा पारिदिए । राजा जनक प्रसन्न भए र राजकुमारी सीताको भगवान् रामसँग विवाह गराए ।
विवाहपञ्चमीको दिन विवाह गर्नुहुँदैन
विवाहपञ्चमीको हिन्दूजगत्मा आफ्नै अर्थ छ, तर आजको दिन गरेको विवाहहरू त्यति सफल हुँदैनन् भन्ने अचम्मको जनविश्वास छ । नेपालको मिथिलाञ्चलमा यसलाई धेरै उच्च मानिन्छ र न्यायपूर्वक पालना गरिन्छ किनभने वर्षौंदेखि यस दिन विवाह नगर्ने चलन रहेको छ । माता सीताको दाम्पत्य जीवन अत्यन्त दुःखमय भएकोले विवाहपञ्चमीको दिन विवाह गर्नुहुँदैन भन्ने जनविश्वास छ । १४ वर्षको वनवासपछि भगवान् श्रीरामले गर्भवती माता सीतालाई रानी बन्ने अवसर नदिने बलिदान दिएकाले विवाहपञ्चमीको दिन विवाह गरिंदैन । त्यो दिन विवाह समारोह भयो भने मानिसको दाम्पत्य जीवन माता सीताजस्तै पीडादायी हुन्छ भन्ने भ्रम आज पनि मानिसमा छ ।
निष्कर्ष
विवाहित महिलाहरूले विवाहपञ्चमी दाम्पत्य सुख प्राप्त गर्नका लागि मनाउने गर्छन् भने अविवाहित महिलाहरूले उपयुक्त जीवनसाथी पाउनका लागि मनाउँछन् । विवाहपञ्चमीको सम्झनामा भगवान् राम र माता सीताका भक्तहरूले विशेष पूजा गर्ने, एकदिवसीय व्रत बस्ने र हर्षोल्लासका साथ विवाह समारोह आयोजना गर्छन् ।