प्रस, सेढवा, ३० मङ्सिर/

पर्साको ग्रामीण भेगका सुरक्षा व्यवस्था कमजोर बन्दै गएको छ । प्रहरी प्रशासन तस्करहरूसँग रकम असुलमा व्यस्त रहेकाले सुरक्षा व्यवस्था कमजोर भएको आम नागरिकको आरोप छ । सुरक्षा व्यवस्था कमजोर भएपछि यस क्षेत्रमा दिन प्रतिदिन चोरी तथा आपराधिक क्रियाकलापमा वृद्धि भएका छन् ।

गएराति जीराभवानी गाउँपालिका वडा नं ३ जीतपुरका एकजना किसानले पालेका एउटा दुहुनो भैंसी र एउटा पाडी गोठबाट चोरी भएको थियो ।

राति करीब २ बजे स्थानीय झगरु ओझैया थारूका दुईवटा भैंसी चोरी भएको थियो । चोरीको घटनाबारे नजीकै रहेको इलाका प्रहरी कार्यालय, सेढवामा खबर गरेको किसान झगरुका नाति रवि ओझैया थारूले बताए । प्रहरीले भोलि निवेदन दिनु अनि खोजी कार्य गर्ने बताएको रविले भने ।

रातिदेखि नै भैंसीको खोजी कार्यमा परिवारका सदस्य तथा छिमेकीहरू लागेका रविले बताए । आज दिउँसो करीब १ बजे हुलाकी सडकको हडही खोलाको छेउमा भैंसी र पाडी भेटिएका रविले बताए । दुहुनो भैंसीको पाडी अर्को घरमा राखिएको रविले बताए ।

त्यस्तै, जीराभवानी गाउँपालिका वडा नं २ सेढवा निवासी अशोक महतोको मोटरसाइकल उनको घरबाटै चोरी भएको छ । करीब दुई साताअघि घरमा राखिएको बा.७५प २९९० नम्बरको  मोटरसाइकल चोरी भएको महतोले गुनासो गरे । इप्रका, पटेर्वासुगौली र जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी गरे पनि अहिलेसम्म कुनै कारबाही नभएको महतोले गुनासो गरे ।

त्यस्तै, जगरनाथपुर गाउँपालिका वडा नं २ जानकीटोला निवासी तथा वर्तमान वडा सदस्य जयप्रकाश महतो केवटले आफ्नो मोटरसाइकल दिउँसै चोरी भएको जानकारी गराएका छन् । महतोले सडकमा राखी करीब एक सय मिटर पर खेतमा गएर फर्किंदा मोटरसाइकल चोरी भइसकेको जानकारी गराए ।

यसैगरी, परसवा गोल्डकपमा भारतीय र नेपाली नम्बरका ५० वटाभन्दा बढी मोटरसाइकल चोरी भएको आकलन गरिएको छ । यसका साथै दमकल, गरगहना, नगद तथा वाटर पम्प चोरीका घटनामा ह्वात्तै बढेको छ ।

यता प्रहरी एकाइहरू तस्कर, व्यापारी, जुवा खेलाउने गिरोह, मोटरसाइकल चोरी गर्ने गिरोह, काठ तस्करसँग रकम उठाउनमैं व्यस्त रहेकाले सुरक्षा व्यवस्था कमजोर भएको स्थानीयको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here