प्रस, वीरगंज, १० मङ्सिर/
वीरगंज महानगरपालिकाको सुशासन तथा संस्थागत विकास समितिले आइतवार महानगरका पाँचवटा वडाको सेवाप्रवाहबारे अनुगमन गरेको वीरगंज महानगरपालिका कार्यालयले जनाएको छ।
वडाबाट प्रवाह गरिने सेवालाई अझ प्रभावकारी बनाउन र समस्या पहिचान गर्न समितिले केही दिन अगाडिदेखि विभिन्न वडाहरूको अनुगमन शुरू गरेको हो।
यसैक्रममा आज वडा नं ८, ९, ११, १३ र १४ मा अनुगमन गरेको र कर्मचारीको उपस्थिति, सेवाप्रवाहको अवस्था, राजस्व सङ्कलनलगायतका विषयमा जानकारी लिएको समितिका संयोजक वडाध्यक्ष्F प्रदीप चौरसियाले बताए।
उनले आज अनुगमनको क्रममा कतिपय वडामा कर्मचारी अभावले सेवा आशाप्रदरूपमा प्रवाह हुन नसकेको, राजस्व सङ्कलनमा समेत समस्या देखिएको बताए। उनले समिति गठन भएपछि हालसम्म १४ वटा वडाको अनुगमन गरिसकेको जानकारी गराएका छन्। महानगरमा ३२ वटा वडा छन् र यसअघि नौवटा र आज पाँचवटा गरी १४ वटा वडाको अनुगमन गरिएको बताए।
नगरप्रमुख राजेशमान सिंहलाई जनप्रतिनिधि हुँदा पनि वडाहरूबाट सेवाप्रवाहमा ढिलासुस्ती भएर समस्या देखिएको गुनासो आएपछि समिति गठन गरेर वडाहरूको अनुगमन गरिएको र त्यहाँको समस्या पहिचान गरी निराकरण गर्ने योजनाअनुरूप कार्य अगाडि बढाएको महानगरपालिका कार्यालयले जनाएको छ।
समितिका संयोजक चौरसियासहित महानगरको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, नगरप्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडाध्यक्ष अजयकुमार बरैलगायतले आज पाँचवटा वडाको अनुगमन गरेका थिए।