नितेश कर्ण, वीरगंज, ८ मङ्सिर/

सर्लाहीमा सम्बन्धविच्छेद (पारपाचुके)को मुद्दा बढ्दैछ। जिल्ला अदालत, सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले पछिल्लो समय सर्लाही जिल्लामा पारपाचुकेका मुद्दामा वृद्धि भएको र यसको कारण वैदेशिक रोजगार भएको बताए।

उनले सबैभन्दा बढी महिलाहरू पारपाचुकेको मुद्दा लिएर आउने गरेको बताए। पारपाचुकेको मुद्दामा वैदेशिक रोजगारमा रहेका पतिहरू घर आउँदा पत्नीसँग मनमुटाव हुने र सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दिनेको सङ्ख्या बढेको बताए। यसको अलावा बेरोजगारी, घरेलु हिंसा, दाइजो, प्रेम–बेमेल विवाहका घटनामा महिलाहरूबाट सम्बन्धविच्छेदको मुद्दा पर्ने गरेको उनले बताए।

उनले हाल कार्यान्वयनमा रहेको कानून अनुसार पुरुषले सम्बन्धविच्छेदको लागि मुद्दा दिंदा एक वर्ष समयावधि लाग्ने तर यसै प्रयोजनमा महिलाहरूले मुद्दा दिंदा भने तत्काल निर्णय हुने कानूनी व्यवस्था रहेका कारण महिलाहरूबाट मुद्दा दिने प्रवृत्ति बढेको बताए। श्रेस्तेदार अधिकारीले आव २०७९/८० देखि चालू आवको चार महीना गरी १६ महीना अवधिमा २२८ दम्पतीबीच सम्बन्धविच्छेद भइसकेको बताए। यस अवधिमा अदालतमा ३२३ वटा मुद्दा दर्ता भएको उनले जानकारी गराए।

यसैगरी, आव २०७९/८० मा २४१ वटा मुद्दा दर्ता रहेको र त्यसमध्ये १४१ वटा मुद्दा फछ्र्योट भइसकेको, २०८०/८१ को चौमासिकसम्म ८२ वटा मुद्दा दर्ता भएको र यसमध्ये ३८ वटाको फैसला भइसकेको श्रेस्तेदार अधिकारीले बताए। सर्लाही जिल्ला अदालतमा अहिले लेनदेनसम्बन्धी २२० वटा तथा अंशसम्बन्धी १३१ वटा मुद्दा चलिरहेको पनि उनले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here