प्रस, निजगढ, ३ कात्तिक/
मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरीका आठवटै डिभिजन वन कार्यालयलाई चाडपर्वको समयमा वनजङ्गल क्षेत्रबाट वन पैदावर हानिनोक्सानी, वन्यजन्तुको चोरी शिकारी हुन सक्ने भएकोले सशस्त्र वनरक्षकसहितको विशेष सुरक्षा टोली परिचालन गरिएको मधेस प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथप्रसाद जयसवालले बताए ।
वन सुरक्षा टोली दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी परिचालन गर्न मातहतका सम्पूर्ण वन कार्यालयलाई निर्देशन दिए बताउँदै चाडपर्वको समयमा वनजङ्गल क्षेत्र अतिक्रमण हुन सक्ने घटनाप्रति सचेत भई वन ऐन कानूनको बर्खिलापका घटनामा संलग्न हुने जो कोहीलाई पक्राउ गरी कानूनी कारबाई गर्नसमेत निर्देशन दिएको वन निर्देशक जयसवालले बताए ।
सुरक्षा बलको आवश्यकता परे सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायहरूका प्रमुखहरूसँग समन्वय गर्न मधेस प्रदेशभरिकै डिभिजन वन कार्यालयका प्रमुख एवं डिएफओहरूलाई निर्देशन दिएको उनले जानकारी दिए ।
डिभिजन वन कार्यालय, बाराले दशैं, तिहार, छठ पर्व नजीकिंदै गर्दा चाडपर्वको अवधिभर तस्करहरू वन क्षेत्रमा प्रवेश गरी रूख कटान गर्ने भएकाले वन सुरक्षा टोलीलाई सक्रिय पारिएको जनाएको छ ।
वनजङ्गलमा चोर तस्कर फेला परे तत्कालै कानूनी कारबाई गर्न सशस्त्र वनरक्षकको विशेष वन सुरक्षा गस्ती टोलीलाई निर्देशन दिंदै कार्य क्षेत्रमा खटिएको डिभिजन वन कार्यालयहरूले जनाएका छन् । बाराका कोल्हवी, सपही, मधुवन, जैतापुर, रामवन, ककडी, जुगवा, पर्सौना, बोधवन, टाँगिया, महेन्द्रनगर, काटगाउँलगायत दक्षिणी भेगका वनजङ्गलमा सालका गोलिया चोरी तस्करीका घटना बढ्न सक्ने भएकोले डिभिजन वन कार्यालय, बाराले मातहतका वन सुरक्षा निकायलाई कडा निर्देशन दिएको छ । सशस्त्र वनरक्षक टोली २४सैं घण्टा घटनास्थलमा पुग्न सक्ने गरी तयारी अवस्थामा राखिएको डिभिजन वन कार्यालय, बाराका प्रमुख एवं डिएफओ विनोद सिंहले बताए ।
पछिल्लो समय कोल्हवी सबडिभिजन वन कार्यालयको मातहतमा रहेको घाटगड्डीबाट नै सालको गोलिया चोरी गरी लैजाँदै गर्दा बरामद भएपछि सो आसपासका वन क्षेत्रमा थप सुरक्षा निगरानी कडा पारिएको डिएफओ सिंहले बताए ।
“राज्यका अन्य क्षेत्रसँगै वन क्षेत्र अति संवेदनशील रहेकोले वन पैदावार चोरी तस्करी, वन क्षेत्र अतिक्रमण हुन सक्नेप्रति चाडपर्वमा सशस्त्र वनरक्षकसहित वन कर्मचारीहरूलाई सक्रिय रहन निर्देश दिएका छौं,” डिएफओ सिंहले भने ।
चाडपर्वमा वनजङ्गल हानिनोक्सानी, वन क्षेत्र अतिक्रमण, वन्यजन्तु चोरी शिकारी हुन सक्नेतर्फ सचेत रहँदै वन कार्यालयलाई आवश्यकता अनुसार जनपद र सशस्त्र प्रहरी तुरुन्तै घटनास्थलमा पठाउने व्यवस्थालाई चुस्त पारिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
त्यसैगरी, डिभिजन वन कार्यालय, पर्साले पनि चाडपर्वमा वन पैदावर हानिनोक्सानी, चोरी तस्करी हुन सक्नेतर्फ जिल्लाका रङ्गपुर, बडनिहार, सबैया, मनवालगायत वन क्षेत्रका नाकाहरूलाई विशेष निगरानी गरिरहेको डिवका, पर्साका प्रमुख एवं डिएफओ सुभाषचन्द्र दासले बताए । सालको लाथ्रा काटी चिर्पट दाउरा ल्याउने क्रम बढेपछि सो कार्यलाई मातहतका सबडिभिजन वन कार्यालयका कर्मचारीहरूले निरुत्साहित गर्दै आएको डिवका, पर्साले जनाएको छ । चाडपर्वमा वन क्षेत्रको सुरक्षार्थ सशस्त्र वन सुरक्षाकर्मीको विशेष टोली परिचालन गरिसकेको डिएफओ दासले जानकारी दिंदै त्यस्ता गतिविधि देखिए वा सूचना पाए वन कार्यालयलाई जानकारी दिन आग्रह गरे ।
त्यसैगरी, डिभिजन वन कार्यालय, रौतहटले पनि चाडपर्व लक्षित विशेष वन सुरक्षा गस्तीलाई कडाइ गरेको जनाएको छ । जङ्गलसैया, सिम्री, भुलनटार, गैंडाटार, चोसा, धन्सारलगायतका नाकाहरूलाई विशेष निगरानी गरिरहेको डिवका, रौतटहका प्रमुख एवं डिएफओ शैलेन्द्र मिश्रले जानकारी दिए । “चाडपर्वको मौकामा तस्करहरूले वन पैदावर हानिनोक्सानी गर्न सक्नेतर्फप्रति हामी सचेत छौं,” डिएफओ मिश्रले भने । मातहतका निकायहरू सबडिभिजन, इलाका रेन्जपोस्ट सशस्त्र वन सुरक्षा टोली, वन कर्मचारीहरूलाई समेत वन सुरक्षाका लागि कडाइका साथ निर्देशन दिएको डिवका, रौतहटले जनाएको छ ।
त्यसैगरी, सर्लाहीको पूर्व–पश्चिम राजमार्ग र भित्री नाकाहरूलाई डिभिजन वन कार्यालय, सर्लाहीले निगरानी बढाइरहेको डिवका, सर्लाहीका प्रमुख एवं डिएफओ मन्जुर अहमदले जानकारी दिए । ‘चाडपर्वहरूमा समूहगतरूपमा रूख कटान र वन क्षेत्र अतिक्रमण हुन सक्नेतर्फ हामी चनाखो छौं,” उनले भने । तस्करहरूले वन क्षेत्रमा गाडी नै हुलेर वन पैदावर हानिनोक्सानी पुर्याउन सक्ने भन्दै मूर्तिया, जानकी नगरक्षेत्र, बाँके, घारीलगायत जिल्लाभरिको अन्य नाका र वन क्षेत्रको निगरानी बढाउन विशेष वन सुरक्षा गस्ती परिचालन गरिसकेको डिएफओ अहमदले जानकारी दिंदै वन ऐन कानूनविपरीत कुनै पनि हर्कत गरेको पाइए तुरुन्तै कानूनी कारबाईको दायरामा ल्याउन मातहतका निकाय, कर्मचारीहरूलाई निर्देशन दिएको डिएफओ अहमदले बताए ।
यदि वनजङ्गल क्षेत्रमा कोही कसैले शङ्कास्पद गतिविधि गरेको देखे वा जानकारी पाए तुरुन्दै वन कार्यालयमा जानकारी गर्नसमेत उनले आग्रह गरे ।