प्रस, वीरगंज, ३ कात्तिक/
माउन्ट एडमन्ड माध्यमिक विद्यालयद्वारा बडादशैंको उपलक्ष्यमा शुक्रवार किड्स स्पोट्र्स, लोकगीत र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रधानाध्यापक अनन्तकुमारलाल दासको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सभापति फजिल मियाँ तेलीले शिक्षाको साथै खेलकूद पनि आवश्यक रहेको बताए । ‘खेलौं साथी, खेलमैं रमाऔं साथी, खाँदै, खेल्दै खेलौना जितौं साथी’ नाराका साथ आयोजित किड्स प्रतियोगितामा कक्षा नर्सरी र केजीका विद्यार्थीहरू खेलमैं रमाउँदै, खाँदै खेलौना जितेकामा हर्षित भएका थिए । स्पोट्र्सको निर्णायकमण्डलमा अनीता चौरसिया, मनीला गुप्ता र खुश्बु परवीन थिए भने रेफ्रीमा बलराम नेपाली थिए ।
कार्यक्रममा सामाजिक शिक्षा अन्तर्गत “नेपालको लोकगीत” भन्ने पाठको परियोजना कार्य अन्तर्गत नेपालका तीनवटै भौगोलिक क्षेत्रलाई प्रतिनिधित्व गर्नेगरी कक्षा १० का विद्यार्थीहरूले लोकगीत प्रस्तुत गरेका थिए । लोकगीतबारे कक्षा १० की प्रिन्सी सर्राफले लोकगीत जाति, भाषा, धर्म–संस्कृति र ठाउँ अनुसार फरक–फरक हुने र आज नेपाली समाजमा विदेशी गीत सङ्गीतको प्रभाव बढ्दै गएकाले लोकगीत लुप्त हुने अवस्थामा रहेको बताइन् ।
आमाहरूको सहयोगबेगर विद्यालय एक्लैले चाहेर पनि विद्यार्थीहरूमा अपेक्षित सुधार ल्याउन सक्दैन भन्ने उद्देश्यसहित कार्यक्रममा आमा समूहलाई विशेषरूपले सहभागी गराइएको थियो । कार्यक्रमको सहजीकरण कक्षा १० की मोनिका गोलेले गरेकी थिइन् भने कार्यक्रमको अन्त्यमा दशैंको शुभकामना आदानप्रदान गरिएको थियो ।