प्रस, वीरगंज, २६ असोज/
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रवार काठमाडौंमा भेटघाट गरेका छन् ।
अध्यक्ष अग्रवालले व्यवसायीहरूले भोगिरहेका समस्याका बारेमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए । उनले हाल पर्सा–बारा औद्योगिक क्षेत्रका उद्योग–व्यापारमा आएको समस्या र व्यावसायिक कठिनाइका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएका थिए । उनले उद्योग–व्यवसायको प्रवद्र्धन र विकासका लागि नियमनकारी निकायहरू कर, भन्सार, राजस्व, प्रहरीका अवरोधक हाल स्थगित गरी उद्योगी–व्यवसायीहरूको मनोबललाई उच्च बनाएर अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरे । अध्यक्ष अग्रवालले राजस्व सङ्कलनमा आएको कमीप्रति निजी क्षेत्र पनि चिन्तित रहेको प्रम प्रचण्डलाई बताए ।
राजस्व सङ्कलनमा वृद्धिका लागि भन्सार मूल्याङ्कनलाई पारदर्शी बनाउनुपर्ने, सन्दर्भ पुस्तिकालाई व्यवस्थित र वैज्ञानिक बनाएको खण्डमा आयात र निर्यातको सन्तुलन सँगसँगै स्थानीय व्यापार र राष्ट्रिय अर्थतन्त्र चलायमान हुन ठूलो सहयोग पुग्ने बताए ।
कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी, वीउवासङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्याय सहभागी थिए ।