राधेश्याम पटेल, परवानीपुर, २६ असोज/

स्वास्थ्य कार्यालय, पर्साले वीरगंजमा जिल्लास्तरीय स्वास्थ्यसम्बन्धी वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा पर्साका १४ वटा पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता थियो ।

कार्यक्रममा १४ वटा पालिकाका स्वास्थ्य शाखाले गत आव २०७९/८० को कार्यप्रगति प्रस्तुत गरेका थिए । सो आधारमा स्वास्थ्य शाखालाई प्रशंसापत्रले सम्मानित गरिएको थियो ।

सखुवाप्रसौनी प्रथम, ठोरी द्वितीय, पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा तृतीय र वीरगंज महानगरको स्वास्थ्य शाखालाई सान्त्वना पुरस्कारको रूपमा प्रशंसापत्र प्रदान गरिएको थियो । प्रशंसापत्र पालिका प्रमुखहरूलाई हस्तान्तरण गरिएको थियो ।

सरकारले दिएका स्वास्थ्यका विभिन्न सूचक (मापदण्ड)को आधारमा प्रभावकारी सेवा दिएको बारेमा स्वास्थ्य कार्यालय, पर्साले मूल्याङ्कन गरेको थियो । कार्यक्रममा पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा समन्वयको अभाव, कमजोर व्यवस्थापन, सरकारले निर्दिष्टि गरेका सूचक पूरा गर्नमा समस्या भएको बताइएको थियो ।

कार्यक्रममा पर्साका १४ वटा पालिकामध्ये चारवटा पालिका पूर्ण खोप पालिका घोषणा हुन नसक्दा जिल्ला पूर्ण खोप घोषणा हुन नसकेको बताइएको थियो ।

पर्सामा धोबिनी, कालिकामाई, विन्ध्यवासिनी र पकहामैनपुर गापा पूर्ण खोप घोषणा हुन नसकेका छैनन् ।

त्यसैगरी, मधेस प्रदेशमा चारवटा जिल्ला पर्सा, रौतहट, महोत्तरी र धनुषा पूर्ण खोप घोषणा हुन बाँकी छन् ।

नेपालका सातवटा प्रदेशका ७३ जिल्ला र छवटा प्रदेश पूर्ण घोषणा भइसकेका छन् भने मधेस प्रदेश मात्रै घोषणा हुन बाँकी छ ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण शाहको सभापतित्व एवं जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरको सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पूरणप्रसाद कुर्मी, सखुवाप्रसौनी गापा अध्यक्ष यशवन्त यादव, ठोरी गापा अध्यक्ष लालबाबू श्रेष्ठ एवं विभिन्न कार्यपालिकाको स्वास्थ्य शाखा प्रमुखहरुको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here