प्रस, वीरगंज, २१ असोज/
एटिएम सेवा २४सैं घण्टा उपलब्ध गराउने बैंकको कथनी र करनीमा फरक रहेको पाइएको छ । आवश्यक परेको बेला सेवाग्राहीहरूले रकम झिक्न नपाउँदा सास्ती खेप्नुपरेको छ । सेवाग्राहीहरूले बैंकको कथनीसँग सरोकार नभई चुस्त दुरुस्त सेवा पाउने अपेक्षा गर्छन् ।
वीरगंजको श्रीपुरस्थित नेपाल एसबिआई बैंकको रामपुर शाखाको एटिएममा बारम्बार समस्या आउने र समस्या खेप्न बाध्य हुनुपरेको सेवाग्राहीहरूको गुनासो छ । गत शुक्रवार साँझ साढे सात बजे एटिएमबाट रकम ननिस्किएपछि निराश हुँदै एक सेवाग्राहीले भने, “बारम्बार समस्या आउँछ, जुन दिन एटिएमबाट रकम निस्कन्छ, त्यस दिन लक्की ड्र परेझैं आफूलाई भाग्यमानी ठान्छु,” उनले भने, “अर्को बैंकबाट झिक्दा रु १५ सेवा शुल्क लाग्छ, सेवाग्राहीलाई आर्थिक क्षति पुग्ने बैंकको हर्कत निन्दनीय छ ।” कहिले एटिएममा रकम नहुने त कहिले लिङ्क फेलको नाममा सेवाग्राहीलाई सास्ती दिनु राम्रो नभएको सेवाग्राहीहरूले गुनासो गरेका छन् । एकजना सेवाग्राहीले लगातार तीन दिन साँझपख सो बैंकको एटिएमबाट रकम ननिस्किएपछि नजीकैको नबिल बैंकको एटिएमबाट रकम निकाल्नुपर्दा रु ४५ अतिरिक्त शुल्क तिर्नुपरेको गुनासो गरे ।
रामपुर शाखाका प्रबन्धक रामदेव साहले शुक्रवार साँझ शनिवारसम्म पुग्ने रकम राखेको तर प्राविधिक समस्या शनिवार बिहान मात्र हेर्न मिल्ने प्रतिक्रिया दिए । उनले २४सैं घण्टा सेवा भनिए पनि माथिल्लो निकायको निर्देशन अनुसार राति ९ बजे एटिएम बन्द गर्ने गरेको बताए ।
यद्यपि खुल्ला रहने बेला सेवाग्राहीहरू कहिले रकम अभाव त कहिले लिङ्क फेलको समस्या झेल्दै आइरहेका विषयमा केन्द्रीय तहमाथि दोष थोपार्ने उनको प्रतिक्रियाबाट स्पष्ट हुन्थ्यो ।
प्रबन्धक साहले शनिवार बिहान प्राविधिक समस्या हल हुने भने तापनि बिहान १० बजेसम्म सेवाग्राही निराश हुँदै फर्किरहेका देखिए ।
सूत्र अनुसार बैंकले दैनिक लिमिट ५० प्रतिशतभन्दा बढी कटौती गरेकोले सेवाग्राहीले सास्ती खेप्नुपरेको अवस्था छ । जस्तै, एटिएममा प्रतिदिन ४० लाख राख्ने लिमिट रहेको बैंकले अहिले १५ लाख लिमिट तोकेको छ । एटिएम खुल्ला हुने तर पैसा नहुने, लिङ्क फेल हुने वा जानीजानी लिङ्क फेल गर्ने अवस्था सेवाग्राहीमाथि अन्याय हो ।
आज साँझ साढे छ बजे नेपाल एसबिआई बैंक, आदर्शनगर शाखाको एटिएम बन्द थियो । रकम निकाल्न पुगेका सेवाग्राहीहरूले एटिएम किन बन्द भएको र कति बेला खुल्छ भनी सोद्धा त्यहाँ उपस्थित गार्डले आफूलाई थाहा नभएको बताए । सो एटिएममा कुनै सूचना पनि टाँस नगर्दा सेवाग्राहीहरूको सूचना पाउनुपर्ने हकमाथि बैंक व्यवस्थापन पक्षले बेवास्ता गरेको बुझ्न सकिन्छ ।