प्यालेस्टाइन विद्रोही समूह हमास र इजरायली सेनाबीच युद्ध शुरू भएको छ । विद्रोही हमासले बितेको शनिवार बिहान आकस्मिकरूपमा इजरायली भूभागमा एकतर्फी घातक आक्रमण ग¥यो । हमास समूहले जमीन, आकाश र जल क्षेत्रबाट एकैसाथ आक्रमण गर्दै इजरायल र प्यालेस्टाइनको सीमामा रहेका काँडेतार, पक्की पर्खाल भत्काउँदै इजरायलमा प्रवेश गरेका थिए । उनीहरूले कैंयन इजरायलीलाई नियन्त्रणमा लिएर गएका छन् भने विद्रोहीको रकेट र गोली प्रहारबाट ६५० जनाभन्दा धेरै इजरायलीको ज्यान गइसकेको छ । इजरायलतर्फ ज्यान गुमाउनेमा १० जना नेपाली नागरिकसमेत रहेको पुष्टि भएको छ । यसको प्रतिउत्तरमा इजरायलले थालेको सैन्य कारबाईमा ३५० जनाभन्दा बढी प्यालेस्टाइनी हताहत भएका  छन् । युद्धमा दुवैतर्फ हजारौं सर्वसाधारण घाइते बनेका छन् । दुवैतर्फका कारबाईमा अधिकांश सर्वसाधारणको ज्यान गइरहेको खबर छ । इजरायलले प्यालेस्टाइनी लडाकू समूह हमासविरुद्ध युद्धको औपचारिक घोषणा गरेको छ । प्यालेस्टाइनी लडाकू हमासले इजरायली भूभागमा घूसपैठ गरी आक्रमण गरेपछि इजरायल सरकारले हमासविरुद्ध युद्धको औपचारिक घोषणा गरेको हो । इजरायल र प्यालेस्टाइनी लडाकूबीच जारी युद्धलाई ५० वर्षयताको सबैभन्दा घातक घटनाका रूपमा लिइएको छ ।

इजरायलले युद्धलाई आफ्नो पक्षमा पार्न गाजाको सीमा क्षेत्रमा थप चार बटालियन सैनिक थप्ने तयारी गरिरहेको छ । त्यहाँ त्यसअघि नै ३५ बटालियन सैनिक तैनाथ छन् । प्यालेस्टाइनी छापामारको आक्रमणलाई विश्वले निन्दा गरेको छ । यस घटनामा अमेरिका क्रुद्ध बनेको छ भने चीनले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । उता इरानले भने हमासको प्रशंसा गर्दै ‘गौरवपूर्ण कदम’ भनेको छ । अतः इजरायलमाथि भएको विद्रोही आक्रमणतर्फ विश्वको ध्यान केन्द्रित भएको छ । प्यालेस्टाइनी र इजरायलबीचको लडाइँ सय वर्षभन्दा पुरानो हो । पूर्वी जेरुसेलम, गाजा र वेस्ट बैंकमा बसोबास गर्ने प्यालेस्टाइनी र इजरायलीबीच बारम्बार तनाव एवं द्वन्द्व भएको छ । गाजामा प्यालेस्टाइनी लडाकू समूह हमासको शासन छ । हमास इजरायलविरुद्ध लड्दै आएको छ ।

अहिले प्यालेस्टाइनी र इजरायलीबीच विवादित भूमिमा पहिले अरबी मुस्लिमको बाहुल्यता र यहुदीहरू अल्पसङ्ख्यक थिए । त्यति बेला यहुदीहरूले युरोपमा उत्पीडन भोगिरहेका थिए । सोही कारण उनीहरूले हाल विवादित क्षेत्रलाई आफ्नो राष्ट्रिय पहिचानसहितको गृहनगर बनाउन खोजे, जसलाई बेलायतको समर्थन थियो । तर पहिलेदेखि नै त्यहाँ रहेका अरब मुस्लिम वा प्यालेस्टाइनी समुदायले यो कदमको विरोध ग¥यो । द्वन्द्वको सुरुआत यहींबाट भयो । यहुदीका निम्ति त्यो ठाउँ उसको पुख्र्यौली थलो हो । त्यसैले ऊ आफ्नो अधिकार सुरक्षित रहोस् भन्ने चाहन्छ । यता प्यालेस्टाइनीले भने उक्त भूमिमा आफ्नो ऐतिहासिकरूपमा नै अधिकार रहेको दाबी गर्छ । विवादित क्षेत्रमा इजरायलले यहुदीहरूको सङ्ख्या थपेको थपेकै छ । सोही कारण अहिले पनि गाजा र वेस्ट बैंकमा रहेका प्यालेस्टाइनीले इजरायलको दमन र शोषणको सामना गरिरहेको बताउने गरेका छन् । उनीहरूले आक्रोश र प्रतिशोध यसैगरी जाहेर गर्ने गरेका छन् । हमास विद्रोहीको माग र इजरायलको अडानबारे शान्तिपूर्ण वार्ताका लागि विश्व समुदायले दबाब दिन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here