प्रस, निजगढ, १९ असोज/
चेपाङ्ग समुदायको आर्थिक, सामाजिक उत्थानका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम निजगढमा शुक्रवार सम्पन्न भयो ।
कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले मधेस प्रदेशको निजगढ नगरपालिका–१३ डम्बरपुर रहेका चेपाङ्ग समुदायको मौलिक भाषा, कला, संस्कृति पहिचान नगुम्ने, खलल नपुग्ने गरी उनीहरूको जीवनशैली, शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकतामा राख्दै उनीहरूको उत्थानका लागि अघि बढ्नुपर्ने बताए । चेपाङ्ग समुदायका बालबालिकाहरू शिक्षाबाट वञ्चित नहोस् भन्नाका लागि निजगढ नगरपालिका सचेत रहेको उनले बताए । चेपाङ्ग समुदायको रैथाने बसोवास डाँडा पाखामा रहने भएकोले खानेपानीको अभाव, कृषि उत्पादन निकै कम हँुदा आर्थिक अभाव झेलिरहने उनीहरूको जीवनस्तर उकास्ने जिम्मेवारी स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको रहेको उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति, बाराकी उपाध्यक्ष चन्द्रिका उप्रेतीले चेपाङ्ग समुदायको आर्थिक, सामाजिक उत्थानका लागि सबै तहका सरकार अघि बढ्नुपर्ने बताइन् ।
त्यसैगरी, निजगढ–१३ का अध्यक्ष सूर्य घलानले चेपाङ्ग समुदायमामा शिक्षाको अभाव, परम्परागत कृषि पेशा, भीर पाखाको रैथाने बसोवासका कारण उनीहरूलाई खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका राज्यबाट पाउनुपर्ने सेवा सुविधाहरूबाट विगतमा वञ्चित गरिए पनि स्थानीय तहमा जनप्रतिनिधिहरू आइसकेपछि उक्त सेवा सुविधाहरू प्रवाह भइरहेको बताए । यस वडामा लगभग ३५ घरधुरीभन्दा बढी चेपाङ्ग समुदाय रहेको उनले बताए । त्यसैगरी, चेपाङ्ग समुदायका बस्तीमा होमेस्टे, उनीहरूद्वारा उत्पादित मौलिक परिकार, हस्तकलालगायतका सीपलाई व्यावसायिकरूपमा प्रवर्धन गरेमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने होटल व्यवसायी सङ्घ, बाराका अध्यक्ष अर्जुन लम्सालले बताए ।
कार्यक्रममा मधेस प्रदेश नीति तथा योजना आयोगका उपसचिव रत्नेश शशी, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकृत लक्ष्यबहादुर चौधरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मीलगायतले रायसुझाव दिएका थिए ।
राष्ट्र निर्माण मञ्च, नेपालको आयोजनामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष निर्मल उप्रेतीले गरेका थिए ।