नरेश यादव, पर्सागढी, १४ असोज/
अर्थमन्त्री डा प्रकाशशरण महतले घर, देश छाडेर बाहिरिने प्रवृत्ति बढेका कारण ज्येष्ठ नागरिकहरू वृद्धाश्रममा बस्नुपरेको बताएका छन् ।
३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका–७ मा निर्मित सञ्जीवनी वाटिका वृद्धाश्रम भवनको आइतवार उद्घाटन गर्दै अर्थमन्त्री डा महतले घर छाडेर स्वदेशमैं रोजगारका लागि बाहिरिने अनि विदेश जाने प्रवृत्ति बढेको र त्यहीं घरजम गर्ने गरेका कारण देशका ज्येष्ठ नागरिकहरू वृद्धाश्रममा बस्न बाध्य हुनुपरेको बताए । उनले ज्येष्ठ नागरिकहरूलाई घरमैं राख्ने वातावरण बनाउन सुझाए । उनले ज्येष्ठ नागरिकहरूलाई गरिने सेवाको सिको सन्ततिले गर्ने र आफू बूढो भएको बेला छोराछोरीले सोही सरहको व्यवहार गर्ने बताए । उनले फरक प्रसङ्गमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अघि निजगढ अन्तर्राष्ट्रिय निर्माण नभएकोमा पछूतो गरे ।
पहिले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने थियो भनेर उनले विमानस्थलका लागि बस्ती नै खाली गराउन नपर्ने र रनवेलगायतका प्राविधिक संरचना बनाएर पनि सञ्चालनमा ल्याउन सकिने बताए । उनले विमानस्थल बनाउने हो बस्ती होइन भन्दै त्यहाँ आउने र गन्तव्यतर्फ जानेहरू मात्र हुने हुँदा निजगढ विमानस्थलको काम अगाडि बढाउनै पर्ने जिकिर गरे ।
सांसद कृष्ण श्रेष्ठले घरपरिवारमा कष्टकर जीवन बिताउन बाध्य ज्येष्ठ नागरिकहरूलाई वृद्धाश्रममा आएर बस्न सुझाए । सन्तानबाट पीडित ज्येष्ठ नागरिकहरूका लागि सञ्जीवनी मैत्रीपूर्ण भएको बताए । उनले सङ्घ, प्रदेश र स्थानीय सरकारबाट हुने सहयोग गराउने प्रतिबद्धता जाहेर गरे । नेकाका सहमहामन्त्री फर्मुला मन्सुरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, वडाध्यक्ष सुनीलकुमार गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ नागरिक नन्दन अर्याल, छठुप्रसाद यादवलाई अर्थमन्त्री डा महतले दोसल्ला ओढाएर सम्मानित गरेका थिए । कार्यक्रममा स्वागत मधु शाही ठकुरीले र सहजीकरण मेघा शाहीले गरेका थिए ।
अधिकारबारे ज्येष्ठ नागरिकलाई सचेतना, स्वास्थ्य परीक्षण
प्रस, वीरगंज/
विश्व ज्येष्ठ नागरिक दिवस आइतवार ज्येष्ठ नागरिक सङ्घ, पर्साले कार्यक्रम आयोजना गरी मनाएको छ ।
वीरगंज महानगरपालिका कार्यालय र सङ्घको संयुक्त आयोजनामा दिवसको अवसरमा ज्येष्ठ नागरिक पार्कमा कानून व्यवसायी रामेश्वर सेढाईंले ज्येष्ठ नागरिकहरूको हकमा राज्यले बनाएका कानून र अधिकारका बारेमा जानकारी गराएका थिए । ज्येष्ठ नागरिकहरूलाई राज्यले दिएका अधिकारबारेमा जानकारी हुनुपर्ने मध्यनजर गरी पर्साका ज्येष्ठ नागरिकहरूलाई कानून व्यवसायी सेढाईंद्वारा सोबारे जानकारी गराइएको सङ्घका सचिव विनयराज गौतमले बताए ।
यसैगरी, दिवसको अवसरमा पार्कमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । डा रामऔतार खेतान, डा नीरज सिंह, डा राधा भट्टराई, डा अभिषेक अर्याल र डा सुमन प्रसादले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरेका र उनीहरूलाई स्वस्थ रहनका लागि खानपिन, नियमित व्यायाम, स्वास्थ्य परीक्षणलगायतका विषयमा सल्लाह दिएका थिए ।
कार्यक्रम सङ्घका शाखा अध्यक्ष श्यामकुमार पोखरेलको अध्यक्षतामा भएको थियो भने मधेस प्रदेश संयोजक जगदीशप्रसाद शर्मा, संस्थापक अध्यक्ष पशुपति विक्रम शाह, उपाध्यक्ष बैधनाथ कोइरी, रमेश दत्त, आत्माराम साह, उषा शाह, बिन्दु शर्मा, आशा गौतमलगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण सचिव गौतमले गरेका थिए ।