इराक, १० असोज/एएफपी

उत्तरी इराकी शहर काराकोशमा एउटा विवाह समारोह भइरहेको स्थानमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु हुनाका साथै १५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधवार बिहान जानकारी दिएका छन् ।

मोसुलको पूर्वमा रहेको इसाई धर्मावलम्बीबहुल शहरको मुख्य अस्पतालमा एएफपीका फोटोग्राफरले एम्बुलेन्सले जलेका मानिस ल्याएको देखेका तथा उनीहरूलाई रक्तदान गर्न अस्पतालको आँगनमा कैयौं मानिस भेला भएका बताएका छन् ।

अत्यधिक ज्वलनशील पदार्थ, आगोले सखाप पार्ने, कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा यति धेरै मानिसले ज्यान गुमाएका अधिकारीहरूले बताएका छन् ।

इराकको आधिकारिक समाचार समितिले निनेवेह प्रान्तका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै हमदानियाहमा  विवाह समारोह भइरहेको एउटा हलमा भएको आगलागीमा १०० जनाको मृत्यु तथा १५० भन्दा बढी घाइते भएका जनाएको छ । इराकी  स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल–बद्रले पनि मृतकको उक्त सङ्ख्याको पुष्टि गरेका छन् ।

अस्पताल भर्ना भएका अधिकांश बिरामी जलेका, अक्सिजन अभावका कारण श्वासप्रश्वासमा समस्या भएका तथा केही भने भीडले कुल्चिंदा घाइते भएका छन् ।

मङ्गलवार साँझ उक्त दुर्घटना भएको हो । यद्यपि आगलागी के कारणले भएको हो थाहा हुन सकेको छैन तर प्रारम्भिक विवरण अनुसार पटाका पड्काउँदा आगलागी भएको बताइएको छ ।

दुलहा वा दुलही वा दुवै आगोको चपेटमा परे नपरेको कुनै जानकारी प्राप्त भएको छैन । तर दुवैजना नाच्न थालेपछि आगो सल्किएको भने जानरकारी प्राप्त भएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here