प्रस, वीरगंज, २७ भदौ/

पिस फर दलित्स फाउन्डेशन नेपाल, मधेस प्रदेश, पर्साको समन्वय तथा इन्टरनेशनल युथ सोसाइटी, काठमाडौंको सहजीकरण र वल्र्ड पिस कमिटी कोरिया एशोसिएशन, दक्षिण कोरियाको सहयोगमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा पिस भिलेज निर्माण गरिने भएको छ ।

दक्षिण कोरियाको मोडल अनुसार पिस भिलेज निर्माणको लागि आज सरोकारवालाहरूले बस्ती, गाउँ, टोलको स्थलगत अनुगमन गरेका थिए ।

दक्षिण कोरियामा निर्मित पिस भिलेजको मोडेल अनुसार पर्सा जिल्लाका केही गाउँमा पिस भिलेज निर्माण गर्ने उद्देश्य रहेको र सोहीअनुरूप अनुगमन गरिएको बताइएको छ ।

पिस भिलेज परियोजना अन्तर्गत गाउँमा घर, चर्पी, भान्सा कोठा, बाटो, नयाँ मोडल अनुसार गाउँँ निर्माण तथा औद्योगिक क्षेत्र निर्माण, पशुपालन गर्नेलगायतका कार्य रहेका छन् । एक स्थानमा ७० देखि १०० घरधुरीसम्म घर निर्माण गर्ने परियोजनाको लक्ष्य रहेको र यसबाट यहाँका दलितहरू लाभान्वित हुने बताइएको छ ।

पिस भिलेज परियोजनाको लागि  पर्सा जिल्लाको सखुवाप्रसौनी गापा–३ को कौवावनकटैया र वडा नं ५ महुवनमा अनुगमन तथा सर्भे गरिएको छ ।

त्यस्तै, गापा तथा वडा समितिसँग छलफल, बैठक गरी स्थान छनोट गरिने बताइएको छ ।

अनुगमनमा वल्र्ड पिस कमिटी कोरिया एशोसिएशनका अन्तर्राष्ट्रिय अध्यक्ष डा योसेप काङ, इन्टरनेशनल युथ सोसाइटी, काठमाडौंका डा पियारतन महर्जन, टीम सहयोगी राजु साह कलवार, पिस फर दलित्स फाउन्डेशन नेपालका अध्यक्ष, फाउन्डेशनका सदस्य, दलित महिला सदस्यलगायतको सहभागिता रहेको फाउन्डेशन, पर्साका अध्यक्ष मनोज रामले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here