नितेश कर्ण, वीरगंज, २२ भदौ/

मानव तस्करीविरोधी एकाइ क्षेत्रीय मुख्यालय एसएसबीको टोलीले एकजना नेपाली नाबालिकाको उद्धार गरेको छ ।

मोहम्मद वारिस अलिले ती नाबालिकालाई ललाइफकाइ प्रेमविवाह गर्ने प्रलोभनमा भारत लैजाने क्रममा एसएसबीले नाबालिकाको उद्धार गर्दै अलिलाई पक्राउ गरेको हो ।

नाबालिकालाई तीन महीनाअघि अलिले महिला साथीको सहयोगमा फेसबूकबाट साथी बनाएका थिए । पछि उनीहरूबीच सामाजिक सञ्जालमार्फत कुराकानी अघि बढेको र अलिले पटनामा प्रेमविवाह गर्ने भनेर ती नाबालिकालाई वीरगंजबाट लैजाने क्रममा रक्सौलमा उद्धार गरिएको एसएसबीले जनाएको छ । नाबालिकाका अभिभावकले मानव तस्करविरोधी क्षेत्रीय एकाइमा घटनाबारेमा जानकारी गराएका थिए । एसएसबीले उद्धार गरेको नाबालिकालाई परिवारको जिम्मा लगाइएको छ भने अलिलाई आवश्यक कारबाहीको लागि प्रहरी चौकी इनर्वाको जिम्मा लगाइएको छ ।

उद्धार कार्यमा मानव तस्करीविरोधी एकाइ क्षेत्रीय मुख्यालय बेतियाका रक्सौलस्थित इन्स्पेक्टर मनोज शर्मा, उपनिरीक्षक नेहा सिंह, सहायक उपनिरीक्षक अनिल शर्मा, मुख्य आरक्षी अरबिन्द द्विवेदी र गैरसरकारी संस्था आफन्त नेपालकी दीर्घा थापालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here