प्रस, वीरगंज, २२ भदौ/
पर्सा प्रहरीले यादगार बचतका दुईजना पदाधिकारीलाई शुक्रवार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले यादगार बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष बलिराम साह र सचिव सोनुकुमार साहलाई शुक्रवार पक्राउ गरेको जनाएको छ ।
कोषाध्यक्ष साहलाई पर्सा जिल्ला अदालतले भदौ १५ गते पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुरूप सहकारीका सदस्यहरूको सूचनाको आधारमा जिप्रका, पर्साले साहद्वयलाई पक्राउ गरेको हो ।
बलिराम साहलाई दिउँसो र सोनुकुमार साहलाई साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । यादगार बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरूको छ करोडभन्दा बढी बचत लिएर फरार भएको अभियोग छ ।
छ महीनादेखि यो संस्थाले बचतकर्ताहरूको रकम लिएर फरार भएको भन्दै साढे तीन सयभन्दा बढी बचतकर्ताले अदालत र प्रहरीमा उजूरी दिएका छन् ।