प्रस, वीरगंज, २२ भदौ/
मधेस प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेश यादवले अन्य प्रदेशको तुलनामा मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछाडि परेको स्वीकारेका छन् । मधेस विश्वविद्यालयको शुक्रवार वीरगंजमा आयोजित पहिलो वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले मधेस प्रदेशको पहिलो सरकारले मधेस विश्वविद्यालय स्थापना गरेर सराहनीय कार्य गरेको बताए । मधेस विश्वविद्यालयका सहउपकुलपतिसमेत रहेका मन्त्री यादवले मधेसमा मात्र होइन, शिक्षाको स्तर देशमा वृद्धि गर्ने लक्ष्यका साथ अगाडि बढ्ने कार्यक्रम रहेको बताए । उनले मधेसी जनताको शैक्षिक स्तर उकास्नका लागि विश्वविद्यालयलाई आवश्यक सहयोग गर्ने बताए । पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दीले नेपालको संविधानले दिएको अधिकारी प्रत्यायोजन गरी विश्वविद्यालय सञ्चालनमा ल्याएको बताए ।
तत्कालीन अवस्थामा कडा परिश्रम तथा अन्य सांसदहरूको योगदानका कारण वीरगंजमैं मधेस विश्वविद्यालय स्थापना भएको बताए ।
वन तथा वातावरणमन्त्री रमेश कुर्मीले धेरै वर्षदेखि वीरगंजमा विश्वविद्यालय सञ्चालन हुनुपर्ने चर्चा चलिरहेकै बेला मधेस प्रदेश सरकारले आफ्नै विश्वविद्यालय सञ्चालनमा ल्याउनु सुखद पक्ष रहेको बताए । यसका अन्य पूर्वाधारका लागि जग्गा खोज्ने कार्र्य भइरहेको र अहिलेसम्म एक सय बिघा जग्गा स्थानीय सरकारका प्रमुखहरूले निश्शुल्क उपलब्ध गराएकामा धन्यवाद दिए । कार्यक्रममा सिंचाइ तथा ऊर्जा मन्त्री सिंहासन कलवारले तत्कालीन अवस्थामा विश्वविद्यालय खोल्न सबै प्रक्रिया पूरा भएपनि स्थापना गर्ने विषयमा लामो बहस चलेको बताए । वीरगंजमा विश्वविद्यालय स्थापना भएपछि यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य भएको उनले बताए ।
उपकुलपति प्राडा दीपक शाक्यको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, भारतीय वाणिज्यदूत शैलेन्द्र श्रीवास्तव, डा युवराज सङ्ग्रौला, डा उपेन्द्र कोइराला, विश्वविद्यालयका डिन मीनबहादुर विक, रजिस्टार विजय यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पहिलो वार्षिकोत्सवको अवसरमा बहुदरमाई नपा–२ पिपरामा रहेको विश्वविद्यालयको ३५ बिघा जग्गामा वृक्षारोपण गरिएको थियो भने निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको थियो ।