राधेश्याम पटेल, परवानीपुर, १७ भदौ/

एशिया कप अन्तर्गत भोलि सोमवार  नेपाल र भारतबीचको क्रिकेट म्याचबारे विभिन्न प्रकारका विश्लेषण भइरहेका छन् ।

यस विषयमा वीरगंजमा क्रिकेटका जानकार एवं सरोकारवालाहरूले के सोचिरहेका छन् भन्नेबारेमा जानकारी लिएका छौं ।

श्रीलङ्काको क्यान्डी रङ्गशालामा सोमवार अपराह्न नेपाली समय अनुसार सवा तीन बजे हुने नेपाल र भारतबीचको क्रिकेट म्याचमा यदि नेपालले टस जितेमा पहिले ब्याटिङ रोज्न सुझाव दिइएको छ ।

क्रिकेट सङ्घ पर्साका नवनिर्वाचित अध्यक्ष मनीष सिंहले  भने, “नेपालले टस जितेमा पहिले ब्याटिङ रोजेर सकेसम्म बढी रन बनाउन सक्नुपर्छ ।” पहिले ब्याटिङ रोजेको अवस्थामा २६० देखि २८० सम्म रन बनाउन टीमले रणनीति बनाउनुपर्छ, उनले भने । उनले चार दिनअघि पाकिस्तानविरुद्धको खेलमा ४० ओभरसम्म नेपालको कसिलो बलिड्ढो चर्चा भइरहेका बेला नेपाली इन स्वीङ बलरका अगाडि भारत दबाबमा हुने भएकोले विनाडरत्रास खेल्न नेपाली खेलाडीलाई आग्रह गरे । “नेपाली टीमले गुमाउनु केही पनि छैन, कथंकदाचित् भारतको हार भयो भने प्रतियोगिताबाट बाहिनुपर्ने अवस्था आउँछ, तसर्थ नेपाली खेलाडी अनुभव बटुल्ने हिसाबले मेहनत गरी खेल्नुपर्छ,” उनले भने ।

नेपाल र भारतबीच हुने खेलबारेमा क्रिकेटर आरिफ र आसिफ शेखका बुबा महमद सलामले सो खेलबारे आफू निकै उत्साहित भएको भन्दै एशिया कपमा पुग्नु नै नेपाली टीमको लागि खुशी र गर्वको कुरा भएको बताए । उनले आफ्ना छोराहरू आरिफ र आसिफ मात्रै होइन पूरै नेपाली टीम नै खेलिरहेको अवस्थामा जीत निकाले नेपाली क्रिकेटरको भाग्य नै चम्किने बताए । खेलमा हारजीत त हुन्छ नै तर भारतसँगको खेलमा नेपाली खेलाडीले ज्यान लगाएर खेल्ने उनको बुझाइ छ ।

त्यसैगरी, आरिफ र आसिफका बाल्यकालका कोच जहुर अन्सारीले  नेपाल र भारतबीचको खेल मजेदार हुने बताए । उनले नेपालसँग अनुभवको कमीका कारण सोचेअनुरूपको प्रदर्शन गर्न नसके पनि भारतविरुद्धको खेलमा नेपाली खेलाडी आत्मविश्वास झल्किने विश्वास व्यक्त गरे । “नेपालले गुमाउनुपर्ने केही छैन, एशिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनु नै नेपालको लागि अहिलेको ठूलो उपलब्धि हो, भारतका सबै खेलाडी विश्वस्तरका छन्, म यो त भन्दिनँ भारतलाई नेपालले हराउँछ, तर नेपाल टीमले सोमवार राम्रो खेल प्रदर्शन गर्ने रणनीति बनाएर मैदानमा उत्रिनुपर्छ,” उनले भने । उनले ओपेनिङ र मिडल अर्डरका केही खेलाडी चलेमा नेपालले राम्रो स्कोर खडा गर्न सक्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here