प्रस, निजगढ, १५ भदौ/
बाराको निजगढ नगरपालिका–१ सिगौलमा रहेको नेपाल राष्ट्रिय माविमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूले वर्षौंदेखि पानीको समस्या झेल्दै आइरहेका छन् । यो विद्यालयमा आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् र शिक्षक-शिक्षिका, कर्मचारी गरी २५ जना छन् ।
घरबाट विद्यालय जाँदा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू पानी अभावका कारण तिर्खा नलागोस्, दिसापिसाब नआओस् भनेर भगवान्सँग प्रार्थना गर्छन् । पिउनको लागि पानीको समस्या भएको यो विद्यालयमा शौचालय र सरसफाइका लागि पानी हुने कुरै भएन । त्यसैले शौचालयहरू दुर्गन्धका कारण प्रयोग लायक छैनन् । यसै कारण यहाँका शिक्षिक, विद्यार्थीहरू अध्यापन र अध्ययन अवधिभर पानीको आवश्यकता पर्ने काम नआइपरोस् भनेर भगवान्सँग प्रार्थना गर्ने गरेका एकजना विद्यार्थीले बताए ।
पानीको अभाव र विद्यार्थी आठ सयको तुलनामा सीमित शौचालयका कारण विद्यार्थी र शिक्षकहरूलाई शौचालय प्रयोग गर्न लाइनमा बस्नुपर्छ । शौचालय कम छ, पानीको अभाव छ, यस्तोमा लाइन लागेर बस्नुपर्ने बाध्यता हुने विद्यार्थीहरू बताउँछन् । विद्यालयमा डेढ दशकदेखि अध्यापन गराउँदै आएकी शिक्षिका सावित्रा सापकोटा छात्र, शिक्षकको तुलनामा छात्रा र शिक्षिकाहरूलाई झन् बढी समस्या रहेको बताउँछिन् । उनले महिलाहरूले व्यक्त गर्न नसकिने समस्याहरू पनि रहेको बताइन् । शिक्षिका सापकोटाले विद्यालयको भौतिक संरचनाहरू थपिएका तर शौचालय र पानीको समस्या भने अहिलेसम्म विद्यमान रहँदा विद्यालय प्रशासन र स्थानीय तहले यसको समाधान नगरेको भनी दुःखेसो पोखिन् । विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय र सिङ्गो नगरपालिकाको अहिलेसम्म यसतर्फ ध्यान नगएको भन्दै विद्यार्थीहरूले पनि पिउने पानी र शौचालयको समस्या समाधानतर्फ अविलम्ब पहलको माग गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक रामवरण यादवले आफूले पटकपटक पानीको समस्या र शौचालय अभावबारेमा विद्यालय व्यवस्थापन समिति, वडाअध्यक्ष, खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरूलाई जानकारी गराउँदै आएको तर अहिलेसम्म कसैले यसतर्फ ध्यानै नदिएको बताए । उनले यो विषयमा विद्यालय व्यवस्थापन समिति बढी गम्भीर हुनुपर्ने र उसको क्षमताले नभ्याए स्थानीय तह, अन्य सहयोगी संस्थामार्फत व्यवस्थापन गराउनुपर्ने तर समितिले गम्भीरतापूर्वक नलिएको आरोप लगाए । खानेपानी उपभोक्ता समितिले बस्तीलाई लक्षित गरेर दैनिक दुई घण्टा मात्र पानीको सप्लाई दिने गरेको तर विद्यालयमा अध्ययनरत आठ सय विद्यार्थीलाई पर्याप्त नभएको बताए । उनले समितिले दिने दैनिक दुई घण्टाको पानीबाट विद्यालयमा पिउने, सरसफाइलगायतका कार्यहरू हुनै नसकिरहेको र यसबारेमा कुनै पक्ष अहिलेसम्म गम्भीर नबनेको दोष लगाए । उनले विद्यालयमा आवश्यक पानीका लागि टङ्कीको व्यवस्था रहेको तर दुई घण्टा मात्र पानीको सप्लाई हुँदा सो समस्याको समाधान नभएको बताए । उनले विद्यालय सञ्चालनमा रहेको दिन कम्तीमा पाँच घण्टा पानीसम्म सप्लाई गरिएको खण्डमा समस्या समाधान हुने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर योञ्जनले विद्यायलका लागि शैक्षिक सुधारलगायत अति आवश्यक थप खानेपानी, शौचालय अन्य भौतिक संरचना निर्माणका लागि आग्रह गर्दै आए पनि अहिलेसम्म रकम प्राप्त नभएको बताए । उनले आफू अध्यक्ष भएपछि पठनपाठन र विद्यालयमा केही भौतिक सुधार गरेको तर पानी र शौचालयको समस्यालाई पूर्णरूपमा समाधान गर्न नसकेको स्वीकारे ।
उनले यसबारेमा वडाध्यक्ष मङ्गले लोप्चनलाई जानकारी गराउँदै बताए । अध्यक्ष योञ्जनले वडा, नगर, प्रदेश वा सङ्घ सरकारबाट कम्तीमा रु ३० लाख सहयोग आवश्यक भएको बताएका छन् । उनले वडा र नपाले विद्यालयका लागि विनियोजन गरेको रकम आपसी विवादका कारण प्रयोेगमा आउन नसकेर फ्रिज भएको बताए । वडाध्यक्ष लोप्चनले विद्यालयमा शैक्षिक सुधार भएको तर पानी र शौचालय, पर्खालको समस्या विद्यमान रहेको बताए । उनले आफूले सक्दो सहयोग गरेको तर आफ्नो सहयोगले मात्र विद्यालयको समग्र समस्याको समाधान सम्भव नभएको बताए ।
२०६२-६३ सालमा राष्ट्रिय वन क्षेत्रको अतिक्रमित जग्गामध्ये विद्यालयले सात बिघा जग्गा पाएको थियो । साथै बस्तीबीचमा रहेको तीन बिघा जग्गामा पनि विद्यालयको भोगचलन रहिआएको छ । १० बिघा जग्गाबाट वार्षिक छ लाख आम्दानी हुने गरेको विद्यालय प्रशासनले जानकारी गराएको छ ।
राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी २०६२-६३ मा अतिक्रमित क्षेत्र फिर्ताका लागि डिभिजन वन कार्यालय, बाराले अख्तियार दुरुपयोग अनुसन्धानमा दिएको उजूरी विचाराधीन छ ।
सो समयमा माओवादी जनयुद्ध चलेको बखत विभिन्न विद्यालय, मठ, मन्दिर, गुम्बा, सङ्घसंस्थाहरूका नाममा सयौं बिघा जग्गा खनजोत हुँदै आएको थियो र सोही समयमा विद्यालयले पनि सात बिघा जग्गा हात पारेको हो । अहिले वार्षिक छ लाख विद्यालयको आन्तरिक आम्दानी छ तर खर्च भने रु २५ लाख छ । शिक्षक, कर्मचारीको तलबसुविधा, प्रशासनिक तथा स्टेशनरी खर्चहरू गरी वार्षिक २५ लाख खर्च हुने गरेको विद्यालय प्रशासनले जानकारी गराएको छ ।