प्रस, वीरगंज, १५ भदौ/
नेपाली काङ्ग्रेस मधेस प्रदेशको स्वास्थ्य विभागले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्यको समस्या, जटिलता र त्यसको प्रभावकारी निदानका लागि मधेस प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
यसअघि पनि स्वास्थ विभागले ध्यानाकर्षण गराएको तथा हिजो बसेको नेपाली काङ्ग्रेस मधेस प्रदेशको संसदीय दलको बैठकमा प्रदेशमा देखिएका स्वास्थ्य जटिलता र दीर्घकालीन प्रकृतिका रोग हल गर्न रु एक लाख दिने पूर्ववत् भएको सहमति कार्यान्वयनमा आउन नसकेको भन्दै निर्णय अविलम्ब कार्यान्वयन गराउन निर्णय गरेको थियो ।
आज जारी विज्ञप्तिमा नेका मधेस प्रदेश स्वास्थ्य विभागले स्वास्थ्यको विषयमा सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराउँदै आएको र जनतालाई प्रत्यक्ष लाभ दिने जनस्तरसँग जोडिएको निर्णय प्रभावकारी कार्यान्वयनको तहमा पुगोस् भने अपेक्षा गरेको उल्लेख छ ।
यस्तै, स्वास्थ्य समस्यालाई समाधान गर्न मुख्यमन्त्री सरोज यादव, भौतिक पूर्वाधारमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्यमन्त्री वीरेन्द्रप्रसाद सिंह, मधेस प्रदेश स्वास्थ्य विभागका सल्लाहकार डा अञ्जनीकुमार झालगायतप्रति विज्ञप्तिमार्फत नेका स्वास्थ्य विभाग प्रमुख शर्मिला थापाले आभार पनि व्यक्त गरेकी छन् ।