नितेश कर्ण, वीरगंज, १५ भदौ/
सर्लाही जिल्लाको लालबन्दी बजार गोलभेंडाको लागि प्रख्यात छ ।
पूर्व–पश्चिम राजमार्गमा रहेको लालबन्दी बजारमा अहिले गोलभेंडा थोकमा रु १६ प्रतिकिलोमा पाइँदैछ । यहाँका किसानहरू अहिले प्रतिकिलो रु १६ पाएकामा निकै खुशी छन् ।
यसअघि गोलभेंडाको सिजनमा दुई रुपैयाँ किलोमा बिक्री गर्नुपर्दा किसानहरूले गोलभेंडालाई सडकमा फालेर विरोध प्रदर्शन गरेका थिए ।
त्यत्तिखेर भारतबाट पनि गोलभेंडा यो बजारमा आउँदा स्थानीय किसानहरूले लगानी अनुरूपको प्रतिफल पाउन सकेका थिएनन् । यसैबीच अहिले गोलभेंडा उत्पादनको अन्तिम समयमा भने यहाँका किसानहरू रु १६ प्रतिकिलोमा बिक्री हुँदा निकै खुशी छन् । लालबन्दीदेखि ७५ किलोमिटरको दूरीमा रहेको वीरगंज बजारमा अहिले पनि गोलभेंडा खुद्रामा प्रतिकिलो रु १५० सम्म बिक्री भइरहेको छ । थोकमा भने रु सयदेखि ११० सम्म बिक्री भइरहेको छ । लालबन्दीका किसानहरूले वीरगंजलगायतका बजारसम्म गोलभेंडा पुर्याउन नसक्दा यसको फाइदा बिचौलिया व्यापारीहरूले उठाउँदै आएका छन् ।
लालबन्दीमा २५ किलोको गोलभेंडाको क्यारेट अहिले रु ४०० मा बिक्री भइरहेको छ । लालबन्दी नगरपालिका–११ हीरापुरका किसान तिलबहादुर मोक्तानले अहिले गोलभेंडा उत्पादनको अन्तिम बेलामा बजारमा सन्तोषजनक मूल्य पाएको भनेर खुशी व्यक्त गरे । उनले गत माघमा प्रतिक्यारेट रु डेढ सयदेखि दुई सयसम्ममा बिक्री गर्नुपर्दाको पीडा सुनाउँदै लगानी पनि असुल नभएको बताए ।
कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले किसानले गोलभेंडाको राम्रो मूल्य पाइरहेका बताए । उनले लालबन्दीमा गोलभेंडा बिक्री गर्ने किसानहरू खुशी भएका पनि बताए ।