प्रस, वीरगंज, ९ भदौ/
वीरगंज महानगरपालिका कार्यालयले भदौ ८ गतेसम्म सात करोड ७० लाख राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताए ।
वीरगंज महानगरपालिकाले चालू आव २०८०/८१ को लागि आन्तरिक राजस्व लक्ष्य रु ७० करोड राखेको छ । सुरुआती महीनामा महानगरको राजस्व सङ्कलन सन्तोषप्रद देखिएको छ र यही अवस्था कायम रहे लक्ष्य हासिल गर्ने देखिन्छ ।
राजस्व महाशाखा प्रमुख कर्णले गत साउन महीनामा महानगरले रु छ करोड ३० लाख ३१ हजार ४४० सङ्कलन गरेको र हिजो भदौ ८ गतेसम्म एक करोड ४० लाख ७६ हजार राजस्व सङ्कलन गरिसकेको बताए ।
उनले सम्पत्तिकरबाट रु तीन करोड १५ लाख ७४ हजार, भूमिकर/मालपोतबाट रु २० लाख ७२ हजार, घरबहाल करबाट रु ७६ लाख ६१ हजार, साना सवारीकरबाट रु तीन लाख ८९ हजार, व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट रु ५६ लाख ६६ हजार, अन्य सेवा शुल्कबाट रु ७२ लाख ६२ हजार, नक्शापास दस्तुरबाट २२ लाख ६८ हजार, सिफारिश दस्तुरबाट रु ३९ लाख ४८ हजार, प्रशासनिक दण्ड जरिवानाबाट रु १० लाख ९९ हजार, अखेटोपहारमा लाग्ने करबाट ६१ लाख, सरकारी सम्पत्ति बहाल करबाट रु ६८ लाख ४० हजार र बहाल बिटौरी करबाट पाँच लाख २२ हजार राजस्व सङ्कलन भएको बताए ।