नितेश कर्ण, वीरगंज, ८ भदौ/
मानव बेचबिखनविरुद्धको एकाइ सेक्टर हेडक्वार्टर ४७औं कोर रक्सौल र प्रयास किशोर सहायता केन्द्र पूर्वी चम्पारणले मानव व्यापार (बेचबिखन), बालविवाह, बाल यौन शोषणलगायतका मुद्दाहरूलाई लक्षित गरी सरकारी विद्यालयका विद्यार्थीहरूलाई कार्यक्रमको आयोजना गरेर सचेत गराएको छ ।
सीमावर्ती भारत सिकटाका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बालश्रम, साइबर अपराधलगायतका विषयमा प्रशिक्षण दिइएको हो ।
मानव बेचबिखन नियन्त्रण एकाइ सेक्टर हेडक्वार्टर ४७औं कोर रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा नाटकमार्फत बालबालिकालाई मानव बेचबिखनबाट हुने नकारात्मक असरका बारेमा सचेत गराइएको थियो ।
प्रयास बाल सहायता केन्द्र पूर्वी चम्पारणकी जिल्ला परियोजना संयोजक आरती कुमारीले मानव व्यापार, बाल यौन दुव्र्यवहार, बालविवाहमुक्त भारत अभियानमा सहकार्य गर्दै उपस्थित बालबालिकालाई बालविवाह नगर्न शपथ गराएकी थिइन् । एसएसबीका उपनिरीक्षक शिवनाथ मिश्रले शिक्षकहरूलाई साइबर क्राइम र साइबर सेक्युरिटीलगायतका अपराधबाट सजग रहनेबारेमा सचेत गराएका थिए । एसएसबीका हवलदार पम्मी मिश्रले मानव बेचबिखनबाट किन र कसरी सचेत हुन आवश्यक छ भनी बताइन् ।
कार्यक्रममा मानव बेचबिखन नियन्त्रण एकाइ सेक्टर हेडक्वार्टर ४७औं कोर रक्सौलका हवलदारहरू अनिल शर्मा, अरविन्द द्विवेदी, शिवाङ्गी, आरती कुमारी, प्रयास संस्थाका जिल्ला संयोजक राज गुप्ता, शिक्षक पवन कुमार लगायतको सहभागिता थियो ।