राधेश्याम पटेल, वीरगंज, ८ भदौ/
गत साउन पहिलो सातादेखि हरियो तरकारीको माग बढेकोे छ । सबैथरीका हरियो तरकारीको माग ३० देखि ५० प्रतिशतले बढेको विक्रेताको भनाइ छ । तराई–मधेसका जिल्लामा हरियो तरकारीको दर र राजधानी काठमाडौंमा हरियो तरकारीको दरमा ठूलो अन्तर छ । तर अब केही दिनमा हरियो तरकारीको मूल्य घट्ने आङ्कलन गरिएको छ ।

भारतबाट आलु, प्याजलगायतका तरकारी खुला सीमाका कारण भन्सार छलेर आउन थालेपछि मूल्य घट्ने अनुमान गरिएको छ । भदौ अन्तिम सातासम्म हरियो तरकारीको मूल्यमा अहिलेको तुलनामा २० देखि ३० प्रतिशत कमी आउने वीरगंजका तरकारी व्यवसायीहरू बताउँछन् ।

वीरगंजका तरकारी तथा फलफूल व्यवसायीका अनुसार गत साउन तेस्रो सातादेखि भन्सार नाकाबाट भइरहेको गोलभेंडाको निकासी एक सातादेखि बन्द रहेको छ । भारतमा गोलभेंडाको अभाव सिर्जना भएपछि गत साउन २१ देखि भारतले नेपालबाट निकासी फुकुवा गर्दै भिœयाउन शुरू गरेको थियो । भन्सार विभागको तथ्याङ्क अनुसार गत साउन २२ देखि भदौ १ गतेसम्म नेपालको वीरगंज, काँकडभिट्टा र भैरहवा गरी तीन भन्सार कार्यालयबाट रु ८० लाख ३६ हजार मूल्य बराबरको छ लाख ६९ हजार ६८० किलो गोलभेंडा भारत निकासी भएको थियो ।

वीरगंज भन्सार नाका हुँदै साउनको अन्तिम सातासम्म रु ७३ लाख ७० हजार बराबरको छ लाख ३७ हजार ६८० किलो गोलभेंडा निकासी भएको सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले बताए । तर अहिले एक सातादेखि भारतीय गोलभेंडा भन्सार छली दुई नम्बर बाटोबाट नेपाल आउन थालेपछि नेपाली गोलभेंडा भारत निकासी बन्द भएको व्यवसायीहरूले बताए । अहिले भारतको बैंगलोर आसपासमा गोलभेंडा उत्पादन भएर बिहार र अन्य राज्यमा आइरहेकामा बिहारबाट दुई नम्बर बाटोबाट गोलभेंडा, आलु, प्याजलगायतका तरकारी आइरहेको बुझिएको छ ।

वीरगंजका तरकारी व्यवसायीका अनुसार साउनको दोस्रो साता गोलभेंडाको मूल्य आकाशिएको थियो । जसले गर्दा भारतमा किलोको भारु दुई सयसम्म पुगेको थियो । नेपालमा पनि गोलभेंडा रु २०० प्रतिकिलो पुगेको थियो । भारत निकासी भएको गोलभेंडा पुनः नेपाल चोरबाटो भित्रिन थालेको छ ।

रक्सौलबाट दुई नम्बर बाटो हुँदै आएको गोलभेंडा थोकमा वीरगंजमा रु ७२ मा बिक्री भइरहेको छ भने खुद्रामा प्रतिकिलो रु ८०–९० रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी, नेपाली गोलभेंडा थोकमा प्रतिकिलो रु ९०–१०० को दरमा बिक्री भइरहेको छ भने खुद्रा प्रतिकिलो रु १२० सम्म बिक्री भइरहेको बताइएको छ । नेपाली आलु खुद्रामा प्रतिकिलो रु ५२ र थोकमा रु ४२ को भाउमा बिक्री भइरहेको छ भने दुई नम्बरबाट आएको भारतीय आलु थोकमा प्रतिकिलो रु ३२–३५ र खुद्रामा रु ४० मा बिक्री भइरहेको छ ।

भारतले प्याज निकासीमा ४० प्रतिशत निकासी कर लगाएपछि भन्सार च्यानलबाट प्याजको आयात बन्द छ भने व्यवसायीहरूले दुई नम्बर बाटोबाट प्याज ल्याएर बजारको मागलाई धान्दै आएका छन् । भारतमा प्याज आपूर्तिमा सहजता पैदा भएपछि भारत सरकारले नेपालसँगै एशियाका अन्य मुलुकमा समेत प्याज निकासीमा प्रतिबन्ध लगाउन महँगो निकासी कर लगाएको कारण वीरगंज भन्सार नाकासँगै अन्य नाकाबाट प्याज आयात ठप्प भएको छ । तर पनि खुला सिमानाको फाइदा उठाउँदै व्यापारीहरूले प्याज मगाइरहेका छन् ।

अहिले वीरगंजमा दुई नम्बर बाटोबाट आएको प्याजको भाउ थोकमा प्रतिकिलो रु ६० र खुद्रामा रु ७० मा कारोबार भइरहेको वीरगंज मीनाबजारका व्यवसायीहरूले बताए । मीनाबजारका एकजना तरकारी व्यवसायीले नेपालमा प्याजको उत्पादन न्यून हुन्छ र बजारको मागलाई भारतबाट आयातित प्याजले मात्र धान्दै आएको बताए । उनले भारतले निकासी प्रतिबन्ध नलगाउँदा भन्सारबाट आउने गरेको तर अहिले चोरबाटो विभिन्न साधनबाट प्याज ल्याएर आपूर्ति गरिरहेको बताए ।

खुला सीमाका कारण नेपालमा महँगो भएको सामान भारतबाट र भारतमा महँगो भएका सामान नेपालबाट चोरबाटो आवतजावतको प्रक्रिया पुरानो हो । अहिले भर्खरै केही सातासम्म नेपाली हरियो धनिया भारत निकासी हुँदै आएको थियो । तर महँगो भएपछि भारतबाट नेपाल निकासी हुँदैछ । खुद्रामा अहिले हरियो धनिया प्रतिकिलो रु एक हजारसम्म पुगेको व्यवसायीहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here