प्रस, परवानीपुर, ७ भदौ/
रेलमार्गबाट आएर वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा विगत दुई महीनादेखि थन्किएको तीन हजार ६५० टन कोइलाको जाँचपास भएको छ । बुधवारदेखि जाँचपास भएर कोइला आयातकर्ताको गोदाममा जान थालेको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीले कोइलाको कुल मूल्यमा १५ प्रतिशत थपेर पाँच प्रतिशत भन्सार महसूल लिई जाँचपास भएको बताए ।

भन्सारको सन्दर्भ मूल्यको झन्झटका कारण दुई महीनादेखि कोइला बन्दरगाह भन्सारमा थन्किएको थियो । यो नाकाबाट पहिलोपटक रेलबाट कोइला ल्याएको आयातकर्ताले कोइलाको सन्दर्भ मूल्य अव्यावहारिक भएको भन्दै जाँचपास गराएका थिएनन् । आयातकर्ताले कोइला जाँचपास नगराएर भन्सार विभागमा बीचको बाटो वा विकल्प निकाल्न निवेदन दिएको थियो । सोही बमोजिम निर्णय भएको प्रमुख भन्सार अधिकृत मैनालीले बताए ।

भन्सारको सन्दर्भ मूल्य पुस्तिकामा भारतबाट कोइला आयात गर्दा प्रतिकिलो भारु १२ भन्दा घटीमा जाँचपास गर्न नमिल्ने व्यवस्था छ । तर पछिल्लो आठ महीनादेखि मूल्य घटेको कोइला भारतबाट प्रतिकिलो भारु ८ मा आयात गरिएको थियो । अर्थात् टनको भारु ८ हजार परेको थियो ।

लतिका कमोडिटी सप्लायर्स, काठमाडौंले भारतको झारखण्डको धनबादबाट ५९ वटा वागनमा तीन हजार ६५० टन कोइला गत असार १६ गते पहिलोपटक रेलमार्गबाट वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहमा भिœयाएको थियो । तर जाँचपासमा सन्दर्भ मूल्यको विवादले उक्त कोइला थन्किएको थियो ।

बुधवारदेखि कोइला टिपरबाट आयातकर्ताको गोदाममा भण्डारण भइरहेको प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका प्रमुख अपरेशन अधिकृत अतुल शर्माले बताए । उनले करीब सयभन्दा बढी टिपर कोइला भन्सार यार्डबाट गोदाममा लगिएको बताए ।

नेपालमा वार्षिक २५ देखि ३० लाख टन कोइला आयात हुन्छ, ठूला आयातकर्ता पाँचदेखि छको सङ्ख्यामा छन् । आयातित कोइलामध्ये ७५ प्रतिशत सिमेन्ट उद्योग, २० प्रतिशत इँटा उद्योग र पाँच प्रतिशत फलाम उद्योगले खपत गर्छन् । सिमेन्ट उद्योगले कच्चा पदार्थको रूपमा कोइला प्रयोग गर्छन् । इँटा र फलाम उद्योगले भट्टी तताउन कोइला प्रयोग गर्छन् ।

कोइला सामान्य अवस्थामा दक्षिण अफ्रिका, इन्डोनेशिया, अमेरिका, रूस आदि मुलुकबाट आयात हुने गरेकामा हाल भने भारतीय कोइला सस्तो भएकोले भारतबाटै आयात भइरहेको छ । सामान्य अवस्थामा वीरगंज नाकाबाट मासिक एक लाखदेखि सवा लाख टन कोइला आयात हुँदै आएको छ । तर पछिल्लो केही महीनायता कोइलाको आयात घटेर मासिक करीब ७२ हजार टनमा झरेको छ ।
पहिले रक्सौल रेलवे यार्डमा मालगाडीबाट कोइला ल्याएर अनलोड गरेपछि टिपरमा नेपाल ढुवानी गर्नुपर्ने बाध्यता थियो भने अहिले सोझै रेलमार्गबाट भारत तथा तेस्रो मुलुकबाट लुज कार्गो ल्याउन सकिने पूर्वाधार तयार भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here