प्रस, वीरगंज, ३ भदौ/
नेपाली काङ्ग्रेसद्वारा आयोजित समाजवादी नेता स्व प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्मको अस्तु यात्रा आइतवार वीरगंज आइपुगेको छ ।
स्व गिरीको वार्षिक पुण्यतिथिको अवसरमा वीरगंजमा आयोजित ‘प्रदीप गिरी र मधेस’ शीर्षक कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले नेता गिरीको विचार सबै दलका नेताले अनुसरण गर्नुपर्ने बताए । उनले नेता गिरीले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका बेला आफूहरू विद्यार्थी नेता रहेको बताए । मन्त्री साउदले एकदलीय पञ्चायती व्यवस्था हटाउन प्रजातान्त्रिक शक्तिले मात्र सम्भव नभई वामपन्थी शक्तिलाई पनि साथमा लिए आन्दोलन निष्कर्षमा पुग्ने योजना बनाएका गिरीले मेलमिलापको अवधारणा ल्याएर पञ्चायती व्यवस्था हटाउन सहयोग गरेको बताए ।
नेता गिरीको विचारले सीमान्तकृत तथा पिछडिएका वर्गलाई पनि सङ्गठित गरी आन्दोलनलाई अगाडि बढाउन सहयोग गरेको बताए । उनले पार्टीमा केन्द्रीय समितिको निर्णयविरुद्ध फरक मत प्रस्तुत गर्दा ठूलै चर्काचर्की हुने गरेकामा पछि उनकै विचारमा नेताहरू सहमत हुने गरेको बताए । मन्त्री साउदले समाजवादी नेताको छवि बनाए नेता गिरीको निधनले सिङ्गो पार्टीलाई ठूलो धक्का पुगेको बताए ।
कार्यक्रममा पत्रकार चन्द्रकिशोर झाले स्व गिरी पार्टीको मात्र नभई सिङ्गो मुलुकको हकहितको पक्षमा वकालत गर्ने नेताको रूपमा स्थापित भएको बताए । उनले लोकतन्त्रमा अधिकारविहीनको पक्षमा विचार राखी अधिकारसम्पन्न बनाउन नेता गिरी सधैं प्रयासरत रहने गरेको बताए ।
पत्रकार झाले देशमा आएको परिवर्तनपछि स्थानीय तहमा निर्वाचित तथाकथित राजाहरूका कारण लोकतान्त्रिक गणतन्त्र व्यवस्था नै धरापमा रहेको बताए । स्थानीय तहका नेतृत्वका क्रियाकलापका कारण आम जनमानसले वर्तमान व्यवस्था नै परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्न थालेपछि लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि सङ्कट बढिरहेको बताए ।
उनले उपभोक्ता समितिको नाममा अहिले लुटतन्त्र बढेसँगै गाउँमा गुण्डाराज व्याप्त रहेको बताए । उनले स्थानीय तहका राजाहरूका बारेमा सबै दलले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए । नेका, पर्साका सभापति जनार्दनसिंह क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य अनिल रूँगटा, गुरु बराल, कञ्चन झालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार रितेश त्रिपाठीले गरेका थिए ।
बिहान यात्रा टोलीले स्व गिरीको केही अस्तु पर्सा जिल्लाको तिलावे नदीमा पनि विसर्जन गरेको थियो ।