प्रस, निजगढ, २ भदौ/
शनिवार एक कार्यक्रममा गएर मोटरसाइकलमा फर्कंदै गर्दा बिहान करीब १० बजे सर्पले बाटो काट्यो । मोटरसाइकल रोक्न सक्ने अवस्था थिएन । मैले सडक पार गरें । सर्पले बाटो काटेको शुभ सङ्केत होइन भन्ने जनविश्वास अझै पनि छ । अनि गति कम गर्दै मनभरि कुरा खेल्दै घर १०–१५ मिनेटमा आएँ । बिहानको खाना खाने बेला भइसकेको थियो । शरीर थकित भएको महसूस भयो । एक छिन मोबाइल हेरें अनि खाना खान गएँ । खाना खाएर पुनः मोबाइलमा सामाजिक सञ्जाल हेर्दै थिएँ । प्रतीक दैनिकका समाचार सम्पादक आरके पटेल दाइले ‘दुःखद खबर पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन हाद्र्धिक श्रद्धाञ्जलि’ भनेर सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको पाएँ । म एक छिन अक्कमक्क अनि स्तब्ध भएँ । उहाँले सशस्त्र प्रहरीको पोशाक लगाएर नै हिजो शुक्रवार प्रतीक दैनिकको वार्षिकोत्सवमा मलाई पुरस्कार प्रदान गर्नुभएकोले मनलाई बाँधेर समाचार सम्पादक आरके पटेल दाइलाई फोन सम्पर्क गरें । उहाँको मोबाइल निकै व्यस्त थियो । निकै बेर सम्पर्क हुन सकेन । पछि भयो । हो उहाँ नै हो तपाईंलाई हिजो पुरस्कार प्रदान गर्नुहुने सप्रउ भन्नुभयो । एक छिन केही सोच्नै सकिनँ ।

एक छिनपछि सामाजिक सञ्जालमा थपलिया सरको अकस्मात् भएको दुःखद निधनको खबरलाई पत्याउन सहज बनाइरहँदा पनि अझै पत्याउन सजिलो भएको थिएन मलाई । हुनत यसअघि न कुनै सभा–समारोह, न त कुनै अन्य कार्यक्रममा नै उहाँको र मेरो भेट भएको थियो । हिजो भदौ १ गते प्रतीक दैनिकको ३७औं वार्षिकोत्सवमैं उहाँसँगको मेरो पहिलो तथा अन्तिम भेट बन्न पुग्यो ।
दैव पनि कति निठुरी, कति निर्दयी उमेरको हिसाबले उहाँ मभन्दा ६–७ वर्षले कान्छो हुनुहुँदो रहेछ । तर सशस्त्र प्रहरी बल नेपालको गौरव अनि गर्विलो जिम्मेवारी सम्हाल्दै मुलुकै प्रमुख आर्थिक नगरी वीरगंजमा शान्ति, सुरक्षा, अमनचयन गराउने सङ्गठनको मुख्य उद्देश्यलाई सफल बनाउन सात महीनाअघि सशस्त्र प्रहरी बल नेपाल, पर्साको प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षकको जिम्मेवारी सम्हाल्नुभएको जानकारी पाएँ ।

यसअघि उहाँलाई कहींकतै नदेखेको र कुनै माध्यमबाट गफगाफ पनि नभएकोले अन्य विषयमा केही भन्न सक्दिनँ । तर हिजो सम्पन्न प्रतीक दैनिकको वार्षिकोत्सवमा उहाँले मलाई पुरस्कार दिंदा पहिलो भेट भएको थियो । उहाँको र मेरो त्यस भेट बढीमा दुई मिनेटभन्दा बढी पक्कै लागेन
होला । किनकि कार्यक्रम छोटो मीठो गर्ने चलन प्रतीक दैनिकको पुरानो शैली पनि हो ।

त्यसमाथि म कार्यक्रममा धेरै ढिलो गरी पुगेको थिएँ । उहाँलाई जति समय मैले राम्ररी नियालें । उहाँ सा¥है हसिलो, छरितो शरीर, ऊर्जावान् भएको पाएँ । हुनत उहाँ फौजी सङ्गठनमा आबद्ध हुनुभएकोले पनि उहाँको शारीरिक सुगठन हेरेर म खूबै प्रभावित भएको थिएँ । कुनै दिन उहाँले जागीरे जीवनबाट भोग्नुभएका अनुभव, सुरक्षा निकायको जिम्मेवार पदमा रहनुहँुदा समाजलाई कसरी नजीकैबाट हेर्नुभयो । त्यसमाथि मधेस प्रदेशको वीरगंज लगायतका भन्न मिल्ने अनेकौं कुराको अनुभव सुन्ने मेरो भित्री इच्छा थियो । अनि समाचार तयार गर्ने योजना पनि थियो ।

हुनत मैले पत्रकारिताको दुई दशकको यात्रामा सुरक्षा निकाय, राजनीतिज्ञलगायत अनेकौं व्यक्तित्वहरूसँग गफगाफ गरेको छु । तर पनि उहाँसँग भेट गर्ने मेरो भित्री इच्छा एक्कासि जागेको थियो । कुनै दिन समयले वार्तालापको समय जुराइदेला भन्नेमा म आशावादी थिएँ । तर त्यो पूरा नहुने निश्चित दैवको नियतिले गरिदियो ।

आज देखिएका मानिस एक छिनपछि सदाका लागि नदेखिन पनि सक्छन् भन्ने कुराले सार्थकता पाएको छ । उहाँको हातबाट म पुरस्कृत भएको २४ घण्टापछि नै दुःखद खबर सुन्नुपर्ने बाध्यता, विवशताले मन निकै विक्षिप्त भएको छ । अझै पनि उहाँको निधनलाई सहजै पत्याउन सकिरहेको छैन । तर सत्य त सत्य नै हो ।

यसै शब्दमालाको माध्यमबाट मनभरि त्यस क्षणलाई सम्झँदै भावपूर्ण श्रदासुमन एवं हाद्र्धिक श्रद्धाञ्जलि अर्पण गर्दछु … । सुमन सर, अलबिदा … ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here