प्रस, सेढवा, २ भदौ/
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर सङ्घर्ष समिति, पर्सा र लघु वित्तीय संस्थाविरुद्ध सङ्घर्ष समिति, पर्साको संयुक्त आयोजनामा जीराभवानी गाउँपालिकामा शनिवार विरोध कार्यक्रम सम्पन्न भएको छ । जीराभवानी मन्दिरमा आयोजित कार्यक्रममा समितिका केन्द्रीय सदस्य वीरशमशेर पटेलले सरकारले ल्याएको अनुचित लेनदेनसम्बन्धीको विधेयकले मिटरब्याजी साहुलाई ऋण उठाउन सहज भएको बताए । पीडित ऋणीलाई उकास्न ल्याएको यस विधेयकबाट ऋणीभन्दा साहुलाई लाभ हुने उनले बताए । अधिकांश ऋणी गाउँका सोझासाझा तथा अनपढ भएकाले जिल्ला प्रशासन कार्यालयमा भाषा बुझ्न कठिनाइ भएको तथा साहुहरूको हाकिमहरूसँग चिनजान भएकाले साहुकै हकमा बढी मिलापत्र भइरहेको पटेलले आरोप लगाए ।
मिटरब्याजीकै रूपमा लघु वित्तीय संस्थाहरूले साङ्गठनिकरूपमा गरीब किसानहरूलाई पीडित बनाएको सदस्य पटेलले बताए । सरकारले गरीबी न्यूनीकरण गर्ने उद्देश्यले लघु वित्तीय संस्था सञ्चालन गर्न दिएको तर यी संस्थाहरूले आम नागरिकलाई ऋणको दलदलमा फसाएको उनले आरोप लगाए ।
सञ्चालनमा रहेका करीब १४३ वटा लघु वित्तीय संस्थाका कर्मचारीहरूले ऋणको किस्ता उठाउन दबाब दिएका कारण सयौं महिलाले आत्महत्या गरेका बारा समितिका अध्यक्ष ललित चौधरीले बताए । महिला दिदीबहिनीहरूलाई किस्ता तिर्न देह व्यापारमा लाग्न दबाब दिनुका साथै गहना खोस्ने, गाईभैंसी नियन्त्रणमा लिने जस्ता अनैतिक क्रियाकलाप भइरहेका चौधरीको आरोप थियो । पीडित ऋणीहरूमध्ये कतिपय परिवार किस्ता तिर्न नसकेर घर छाडेर अन्यत्र विस्थापित हुनुपरेकाले संस्थाको विरुद्धमा एकजुट भएर आन्दोलन गर्नुपर्ने उनले बताए ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर सङ्घर्ष समिति, पर्साका अध्यक्ष शिवशङ्करप्रसाद साहको सभापतित्वमा भएको कार्यक्रममा रौतहटका अध्यक्ष शिवशङ्कर कुशवाहा, फूलमहमद अन्सारी, वीरेन्द्र हजरा, मुकेश कुर्मी, हीरा साहलगायतले आआफ्ना गुनासा व्यक्त गरेका थिए ।