काठमाडौं, २ भदौ/रासस
नेपालको युवा टोली घरेलु मैदानमा जारी एशिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ ।
दशरथ रङ्गशालामा शनिवारदेखि शुरू भएको एशिया रग्बी सेभेन्समा नेपालको यू–२० पुरुष टोलीले समूहको तीन खेलमा हार बेहोरेपछि सेमिफाइनलमा पुग्न असफल भएको हो ।
नेपालको पुरुष टोली समूह ‘बी’मा परेको थियो । समूहका तीनै खेलमा नेपाल पराजित हुन पुग्यो । पहिलो खेलमा भारतसँग २८–० ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि मलेशियासँग ४४–० ले स्तब्ध भयो । फाइनलमा पुग्ने लक्ष्य राखेको नेपालको लगातार दोस्रो हारसँगै सेमिफाइनलमा नै पुग्ने आशा सकिएको थियो ।
समूहको अन्तिम खेलमा पनि नेपाल हड्ढङसँग ३६–० ले हार बेहोर्यो । अब नेपालले पाँचौं स्थानका लागि भोलि उज्बेकिस्तासँग खेल्नेछ । भोलि हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेशिया र थाइल्यान्डले हड्ढङसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
यता महिलातर्फ पनि डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालको यू–२० महिला टोलीले तीन खेलमा नै हार बेहोरेको छ । नेपाली युवा टोलीले तीन खेलमा नै हारको सामना गरेपछि उपाधि जित्ने सम्भावना भने समाप्त भएको छ ।
महिलाको लिगमा प्राप्त अङ्कका आधार शीर्ष तीन निर्धारण हुनेछ । पहिलो खेलमा हड्ढङसँग ३४–५ ले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियासँग २४–० ले हार बेहोर्यो । लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने अवसर गुमेको हो । तेस्रो खेलमा भने नेपाल थाइल्यान्डसँग ४५–० को फराकिलो हार सामना गर्न बाध्य भयो ।
दुई दिने प्रतियोगितामा भोलि नै सेमिफाइनल र फाइनलका खेल हुनेछन् । प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरेका थिए । उद्घाटनको अवसरमा एशिया रग्बीका अध्यक्ष कायस अल धलाई, राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटालगायतले सहभागिता थियो ।