प्रस, निजगढ, ३२ साउन/
सिमात–बकैया खोलामा आएको बाढीले द्रुतमार्गको पुल निर्माण गर्ने मेशिन ढालेर क्षति पु¥याएको छ ।
दु्रतमार्गको जसपालस्थित ८ नम्बर पुलको पाइलिङ मेचिन पिल बोर होल हेभी इक्युप्मेन्टमा क्षति पुगेको हो । यस वर्ष एक महीनाअघि आएको बकैया खोलाको पहिलो बाढीले उक्त मेशिन ढालेको हो ।
खोला वारपार आएको बाढीले हेभी मेशिनलाई ढालेपछि छवटा क्रेनको सहायताले सो मेशिन एक साताअघि उठाइएको थियो । जसका लागि बुटवलबाट ७५ टनको क्रेन, बारा–पर्सा औद्योगिक कोरिडरका कारखानाबाट ५० टनका दुईवटा क्रेन र पुल निर्माण गर्ने चाइनिज कम्पनीका तीनवटा गरी छवटा क्रेनको प्रयोग गरी खोलामा ढलेर क्षतिग्रस्त अवस्थामा रहेको हेभी मेशिनलाई सुरक्षित स्थानमा राखिएको जनाइएको छ ।
त्यसैगरी, बाढीले पुल, कल्भर्टलगायत अन्य निर्माणका लागि सामग्री राखिएको ठूलो कन्टेनरमा पनि बाढी पसेर क्षति पु-याएको र कतिपय बगाएको निर्माण कम्पनीले जानकारी दिएको छ । अझै धेरै सामान खोलाले बगाएका, पुरिएकाले क्षतिको यकीन विवरण भन्न नसकिने चाइनिज कम्पनीका दोभासे कुशल भट्टराईले बताए ।
चाइनिज कम्पनीले करोडौंका मेशिन, निर्माण सामग्री क्षति भएको र पुल बनाउन प्रयोग गरिने एक/डेढ सय क्वीन्टल फलामका सामान बाढीका कारण फेला नपरेको जनाउँदै इन्स्योरेन्स कम्पनीमा दाबी गर्ने तयारी गरिरहेको बताइएको छ ।
राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्गमा पुल निर्माण गरिरहेको चाइनिज कम्पनीले चुरे भएर वर्षामा भेलबाढी आउने बकैया खोलालाई नजरअन्दाज गर्दा क्षति हुन गएको मकवानपुरको जसपाल र बारा निजगढ–४ बागदेवका स्थानीयहरू बताउँछन् ।
हिउँदमा घँुडासम्म पानी आउने बकैया खोला वर्षायाममा गडगडाएर पूरै खोलाको पाखा नै ढाकिने गरी बाढी आउने मकवानपुर बकैया गाउँपालिका जुरेलीका ६७ वर्षीय भरत न्यौपानेले बताए । श्रीपुर, जुरेली कर्मचुली, ठाटी, जुइना, जसपाल हँुदै लालबकैया खोलैखोला निजगढ आएको आफूसँग सयौंपटकको अनुभव रहेको बताउँदै यस खोलालाई मौसम अनुसार आकलन नगर्दा खोला ओहोरदोहोर गर्नेले पनि अकालमा ज्यान गुमाउनुपरेका घटनाहरू भएका उनले बताए ।
दु्रतमार्गका विभिन्न स्थानमा पुल निर्माण भइरहेको साइटसम्म पुग्न ग्राभेल, होमपाइप हालेर खोलामा बनाइएको बाटो मकवानपुरको तिरतिरे धारादेखि सरस्वती जाने स्थानसम्मको करीब ६.५ किलोमिटर बाढीले बगाएको स्रोतले जनाएको छ । खोलाबाहिर जाने अर्को कुनै विकल्प नभएपछि खोलाभित्रबाट नै बाटो बनाएर जानुपर्ने भएकोले पुनः ठाउँठाउँमा बनाएको बाटो पछिल्लो बाढीले भत्काएको जनाएको छ ।
अहिलेसम्म जसपाल, कैलेनी, अधेरीमा काम भइरहेको जनाउँदै ६, ७, ८ र ११ नम्बर पुलको काममा बाढीले काम गर्न सक्ने अवस्था नरहेकाले काम रोकिएको जानकारी दिइएको छ ।
राष्ट्रिय गौरवका आयोजनामध्येको एक काठमाडौं–तराई/मधेस द्रुतमार्ग पनि हो । यसको निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । शुरूमा सेनाले ट्र्याक खोले पनि अन्य काम भने विभिन्न उल्झनका कारण समयमा हुन सकेन । त्यसयता अहिले सबै प्रक्रिया पूरा गर्दै यस राष्ट्रिय गौरवको आयोजनाको जिम्मेवारी पाएको नेपाली सेनाले सरकारले तोकिदिएको २०८१ सालमा सम्पन्न गर्नेगरी तीव्रता दिइएको छ ।
बाराको तराई–मधेसको निजगढबाट काठमाडौंको खोकना जोड्ने ७२.५ किलोमिटरको दु्रर्तमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई सरकारले २०७४ सालमा दिए पनि काम भने २०७५ सालबाट मात्रै अघि बढेको हो । बाग्मती प्रदेश मकवानपुरको लेनडाँडासहित विभिन्न स्थानहरूमा १० वटा अस्थायी क्याम्प खडा गरेर यस आयोजनाको काम अघि बढाइएको छ ।
नेपाली सेनाले काठमाडौं–तराई/मधेस द्रुतमार्गको सुरुङ मार्ग र त्यससँग जोडिने अग्ला पुलहरूको डिजाइन स्वीकृत भइसकेसँगै २४सैं घण्टा तीव्रताका साथ काम गरे पनि बाढीले निर्माण कार्यको गतिलाई केही स्थानमा अवरुद्ध पारेको छ । सुरुङ मार्गहरू निर्माण गर्न दुईवटा प्याकेजमा ठेक्का लागेसँगै कामले गति लिएको काठमाडौं–तराई/मधेस दु्रतमार्ग सडक आयोजनाले जनाएको छ । वर्षाअघि दु्रतमार्गस्थित जसपाल, कैलेनी, अधेरी, जुइना, कर्मचुली, जुरेलीलगायतका स्थानमा पुलको पिलर, नाला, डाँडाका भित्ताहरूमा विभिन्न चरणका निर्माण कार्यहरू तीव्रताका साथ भइरहेको थियो ।
दुई प्याकेजको लागत नेपाली मूल्य अनुसार ४४ अर्ब रुपैयFँ छ । एउटा प्याकेज अन्तर्गत मकवानपुरको धेरेमा (सिम्पानीदेखि चालीसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुईवटा सुरुङमार्ग र पुल निर्माण गर्नुपर्ने जनाइएको छ । यो काम पोली च्याङ्दा कर्पोरेशनले २५ अर्ब नौ करोड ५९ लाख ७६ हजार ३३७ रुपैयाँमा ठेक्का पाएसँगै कामले गति लिइरहेको छ । महादेव डाँडामा अर्को ३.३ किलोमिटरको प्याकेजको काम १८ अर्ब ७८ करोड ७० लाख ६५ हजार छ सय रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङले काम अघि बढाउँदै आएको छ ।
सो आयोजना २०७८ वैशाखमा निर्माण सम्पन्न गर्नुपर्ने भनिए पनि चालू वर्षको नीति तथा कार्यक्रममा एक वर्षको म्याद थप गरिएको छ । यस दु्रतमार्गको जीरोकिलो फर्सीडोलमा कायम गर्ने कि खोकनामा भन्ने यसअघिको विवादलाई समाधान गर्दै खोकनामा नै कायम गरिने भएको छ । सन् २०१५ मा भारतीय कम्पनी आइएलएफएसले डिपिआरको अस्वाभाविक मूल्य राखेपछि सेनाले डिपिआरविना नै काम शुरू गरेको थियो ।
२०७४ वैशाखमा चार वर्षभित्र काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएसँगै सेनाले ट्र्याक सफा गर्ने, रूख काट्ने, माटो सम्याउने, पुर्ने, जग्गाको मुआवजा वितरण गर्ने, नक्शाङ्कन विवाद सक्ने जस्ता काम गरेका थिए । सो मार्गको जटिल भूगोलमा १६ वटा अग्ला पुलसहित कुल ८७ वटा पुल र महादेव, धेद्रे, लेन डाँडामा तीन स्थानमा गर्नुपर्ने सुरुङ मार्ग निर्माण काम धमाधम अघि बढिरहेको छ । नजीकिंदो वर्षायामलाई ध्यानमा राखेर वर्षाअघि नं पुलको जगका संरचनाहरूलाई खोलाको पानी बग्ने सतहदेखि माथि ल्याउने योजनाका साथ निर्माण कम्पनीहरूले काम गरी रहे पनि योजना मुताबिक काम सम्पन्न नहँुदा कामलाई अहिले बाढीले प्रभावित पारेको हो ।
निजगढ, बुदुने र सानो खोकनामा गरी तीन स्थानमा गाडी फर्काउने ठाउँ निर्माण गरिने पनि जनाएको छ । त्यसैगरी, दुई स्थानमा विश्रामस्थल र दुई स्थानमा कर सङ्कलन केन्द्र अर्थात् टोल प्लाजा रहने जनाएको छ । सिकाली मन्दिर र कोदेशका पुराताŒिवक महŒवमा क्षेत्र संरक्षण गर्नका लागि नक्शाङ्कन परिवर्तन गर्न र त्यही नक्शाङ्कनलाई टुङ्गोमा पु-याउन मन्त्रिपरिषद्बाट ढिलाइ हुँदा डिपिआर बन्नमा समेत ढिलाइ हुन गएको बताइएको थियो ।
पछिल्लो समय सरकारले कोरियाको सुसुङ इन्जिनीयरिङ एंव कन्सल्टिङ कम्पनीले तयार गरेको विस्तृत आयोजना प्रतिवेदन अर्थात् डिपिआरलाई सम्बन्धित मन्त्रालयसँग परामर्शमा संशोधनसहित पारित गरेपछि आयोजनाको काम तीव्रताका साथ अघि बढेको थियो ।
अघिल्लो डिपिआरलाई संशोधन गरेसँगै यसको लागत समय र लागत मूल्य घट्ने गरी दु्रतमार्गको डिपिआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनाएका छन् । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त डिपिआर संशोधन गरेको बताइएको छ ।
दुई खर्ब १३ अर्ब नौ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि दुई खर्ब ११ अर्ब नौ करोड ३० लाख आयोजनाको लागत रहने भएको हो ।