प्रस, वीरगंज, ३२ साउन/
नेपाली काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेकाभित्र अन्तर्घातका घटना बढेकाले पार्टी कमजोर भएर गठबन्धन गर्नुपरेको बताएका छन् ।

नेकाको १४औं महाधिवेशनपश्चात् नेका पर्सा क्षेत्र नं २ ले बिहीवार आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनका प्रमुख अतिथि सहमहामन्त्री यादवले अन्तर्घात नहुने र पार्टीलाई बलियो पार्ने कुरामा कार्यकर्ताहरू दृढ भए आगामी दिनमा नेकाले गठबन्धन नगर्ने बताए । उनले पर्सा काङ्ग्रेसको लागि बलियो जिल्ला भएको बताए । उनले पर्सेली नेका कार्यकर्तासँग अन्तर्घात नगर्न, पार्टीलाई जिताउने प्रतिबद्धता, भरोसा दिलाउन आग्रह गरे । उनले काङ्ग्रेसमा सङ्कट रहेको र वर्तमान काङ्ग्रेस सहभागी माओवादी नेतृत्वको सरकार निरङ्कुशतातर्फ उन्मुख भएर कमजोर भइरहेको बताए । सहमहामन्त्री यादवले पूर्वगृहमन्त्री बालकृष्ण खाँडका कारण नागरिकता विधेयक जारी भएको र त्यसैको रिसमा उनीविरुद्ध षड्यन्त्र रचिएको आरोप लगाए । उनले खाँड जेलमा बस्नुको कारण वर्तमान गृहमन्त्री कारक भएको र उनकै ‘रोल प्ले’मा यो घटना भएको दोषारोपण लगाए । उनले वर्तमान सरकारमा नेका पनि रहेको तर सरकारको नेतृत्वमा रहेकाहरूले नेकाविरुद्ध षड्यन्त्र रचेका कारण यस प्रकारका कदम नरोकिए सरकारले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

नेकाका केन्द्रीय सदस्य एवं सांसद अजयकुमार चौरसियाले चुनावपछि पार्टीको कार्यक्रम नै नभएको र क्षेत्र नं २ ले अधिवेशन राखेर राम्रो काम गरेको बताए । उनले अब हुने चुनावमा नेकाले गठबन्धन नगर्ने बताए । उनले यसका लागि नेकालाई बलियो बनाउन आवश्यक हुने बताए । यसअघिका दुईवटा चुनाव २०७०–७४ मा अन्तर्घातका कारण नेकाले निकै सिट गुमाउन परेको बताए । उनले आगामी दिनमा कसैले अन्तर्घात नगर्ने हो भने नेकाले धेरै सिट जित्ने दाबी गरे । उनले पूर्वगृहमन्त्री खाँडलाई सरकारले फसाएको आरोप लगाए । न उजूरी छ, न उनको नाम कसैले बयानमा पोलेको छ, त्यत्तिकै जेलमा हालिएको छ । सरकारले बजेट विनियोजन गर्दा पनि मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा कम बजेट पठाएकोमा आलोचना गरे । हाल पिउने पानीको समस्या देखिएको र सोको निराकरणतर्फ सरकार गम्भीर नभएको उनले आरोप लगाए ।

प्रदेशसभा सदस्य एवं नेका, पर्साका सभापति जनार्दन सिंह क्षत्रीले पार्टी निर्णय अनुसार पर्सा जिल्लाका केही स्थानमा गठबन्धन र केहीमा गठबन्धन नरहेको बताए । उनले नेका, पर्साभित्र अन्तर्घातका कारण थुप्रैले हार बेहार्नुपरेको बताए ।

क्षेत्रीय सभापति महमद सहाबुद्दीनको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, नेका, पर्साका उपसभापति रामनारायण कुर्मी, सचिव एवं उपप्रमुख इम्तियाज आलमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेशसभा सदस्य श्याम पटेलले सबै कार्यकर्तालाई निर्धक्क आआफ्नो समस्या राख्न सुझाए । उनले समस्या नराख्दा कसलाई के समस्या परेको छ, पार्टीलाई कसरी अगाडी बढाउने भन्नेबारेमा अप्ठेरो पर्ने बताउँदै आआफ्नो समस्यालाई राख्न सुझाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here