प्रस, पर्सागढी, ३० साउन/
जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालय नगौल जीतपुरमा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ ।

वडाध्यक्ष सुनीलकुमार गुप्ताको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलको प्रमुख आतिथ्यमा कक्षा पिजीदेखि पाँचसम्म अध्ययनरत ३६७ जना छात्रछात्रालाई टाई, बेल्ट, मोजा र पोशाक वितरण गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख पौडेलले आफू निर्वाचित भएको बेला घोषणा गरे अनुसार उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा प्रत्येक वर्ष पोशाक वितरण गर्ने लक्ष्य लिएको बताए । उनले आफू पनि सोही विद्यालयबाट अध्ययन गरेको र सो समयमा बारा जिल्लाका विभिन्न स्थानका साथै पर्साका पश्चिमी क्षेत्र ठोरीबाट अध्ययनका लागि विद्यालयमा आउने गरेको स्मरण गरे ।

उनले सोही समय विद्यालयमा दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको बताए । आफू अध्ययनरत विद्यालयको आर्थिक अवस्था कमजोर रहेको र निम्न आयस्रोत भएका अभिभावकहरूका सन्तानहरू अध्ययन गर्ने हुँदा अहिलेका अभिभावकलाई आर्थिक व्ययभार कम होस् भनेर उपमहानगरले सहयोग गरेको बताए । उनले पोशाकका कारण पनि बालबालिका विद्यालय आउने वातावरण बन्ने दाबी गरे ।

उनले सामुदायिक विद्यालयमा अध्ययनरत उपमहानगरका १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूले शुल्क तिर्नुनपर्ने बताए ।

वडाध्यक्ष सुनीलकुमार गुप्ताले जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि वडा र व्यक्तिगतरूपमा पनि सहयोग गर्ने बताए । उनले विद्यालयमा पोशाक लगाएर आउँदा राम्रो वातावरण हुने बताउँदै सरसफाइ, खेलकूदमा पनि विद्यार्थीहरूलाई रुचि बढाउन सुझाए ।

कार्यक्रममा वडा सदस्य सीता उप्रेती, प्रअ राजु गिरी, विद्यालय व्यवस्थापन समितिका सदस्य आफताब आलम, अभिभावकलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शिक्षक धनञ्जय गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here