रात्रिबजार भनेको त्यस समाजको उच्चतम जीवनशैली हो, जसले प्रचुर उन्नति गरिसकेको छ । यो पश्चिमा सोच हो, पूर्वीय सोच चाहिं केही विलक्षणता प्रदर्शन हुने, गरिखानेका लागि थप अवसर र विकसित नगरले यात्रुहरूका लागि उपलब्ध गराउने मनोरञ्जनको थलो हो । यसका उदाहरणका लागि अमेरिकाको न्युयोर्क शहरको म्यानहटनमा रहेको टाइम स्वायर हो भने भारतको लखनऊस्थित गडबलझाला पार्क हो । टाइम स्वायरको उद्देश्य विज्ञापनको विविधता र रात्रिजीवनको उदाहरण हो भने लखनऊको पार्क गरिखानेका लागि प्रायोजित रात्रिबजार हो । रात्रिबजारको अवधारणा नराम्रो होइन, मुख्य कुरा त्यसको आवश्यकता हो । र सबैभन्दा महŒवपूर्ण कुरा रात्रिबजार लगाउने होइन, स्वयंमेव विकसित हुने अवस्था हो । आज वीरगंजमा रात्रिबजार लगाइँदाको अवस्थाभन्दा पहिले पनि आदर्शनगरका पूmटपाथ तथा सडकमा विभिन्न खाद्यपदार्थसहितका ठेलाहरूको उपस्थितिले रात्रिबजारको अवधारणालाई जन्म दिएकै हो । त्यो स्वयंमेव, खरीदकर्ता र विक्रेताको सामान्य मनोविज्ञानबाट सञ्चालित थियो र स्वाभाविक लागेको थियो, खासै विरोध पनि थिएन, तर अहिले रात्रिबजार लगाउने कोशिशले यसलाई विवादास्पद बनाइदिएको मात्र हो ।

हिजो विक्रेता र खरीदकर्ताको स्वविवेकले लागेको हुँदा त्यसको सफलता र असफलताको लागि कोही पनि जिम्मेवार थिएन, आज लगाइएको हुँदा विरोध भइरहेको छ । पहिलो विरोध त प्रशासनकै तर्फबाट छ, सुरक्षा व्यवस्थाको चिन्तासहित । दोस्रो चिन्ता आयोजकको छ, जसरी पनि यो सफल हुनुपर्छ भनेर । सफल हुनु भनेको हामीकहाँ नरमुण्डहरूको अत्यधिक भेला हो । कुनै कार्यक्रम वा आयोजन यस कारण सफल मानिंदैन कि त्यहाँ सरोकारवाला आए, लाभान्वित भए । सफलताको श्रेय नरमुण्डको बहुलता हो भन्ने हाम्रो मानसिकताले गर्दा जे पनि उपाय गरेर भीड जम्मा गर्ने प्रवृत्ति मौलाएको छ । यसैको नतीजा होला, अश्लील भनिएको नृत्य । कुनै आयोजनले समयक्रममा सफलता हासिल गरोस् भन्ने धैर्य हामीमा हुँदैन । त्यसले गर्दा विभिन्न विकृतिहरू उत्पन्न हुन्छन् र कालक्रममा गरिखानेहरूका लागि उपयोगी यस्ता आयोजनाहरू जनआलोचनाका विषय बन्न पुग्छन् ।

हामीकहाँ कुनै पनि कामको सबै पक्ष हेर्ने संयमको पूर्णतः अभाव छ । अन्धोहरूले हात्तीको वर्णन गरेजस्तै सबैका थरीथरीका विश्लेषण पाइन्छन् । जबकि कुनै पनि कुराका राम्रा र नराम्रा दुईवटा पाटा हुन्छन् नै । रात्रिबजारकै कुरा लिउँ केही गरिखानेहरूका लागि त अवसर हो । अश्लील नृत्य गर्नेको पनि गरिखाने उपक्रम नै हो । अश्लीलताबाट चिढिनेहरूले अश्लीलताबाट आजीविका चलाउनेहरूबारे कहिल्यै सोच्दैनन् । विरोध मात्र गर्छन् । समाज हाम्रो हो भन्ने हामी सोच्छौं, त्यसैले समाजमा विकृति नपसोस् भनेर सतर्क पनि रहन्छौं भने विकृतिको विरोध गरेर साध्य हुँदैन, विकृति किन भयो, त्यसको निराकरण कसरी गर्न सकिन्छ भन्ने सामूहिक प्रयत्न गरेर हटाउनेतर्फ ध्यान दिनुपर्छ । गाली गरेर, आलोचना गरेर यथार्थ बदलिंदैन, यथार्थलाई बदल्न सबैले होस्टेमा हैंसे गर्नुपर्छ । हो, विकृति नै कसैको मनोविज्ञान बनिसकेको छ भने त्यसको आलोचना हुनुपर्छ, विद्यमान कानून अनुसार दण्ड दिन सक्नुपर्छ, होइन भने विकृति हटाउन जुध्नुपर्छ । यस कसीमा वीरगंजको रात्रिबजारलाई सार्थक बनाउन सकियो भने आयोजक तथा सहभागीहरूले यसलाई सफलतासम्म पु¥याउन सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here