याङ्गुन, २६ साउन/सिन्ह्वा
म्यान्माको दक्षिणी केइन राज्यमा नदीको बहावले खतराको चिह्न नाघेपछि १८ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
केइन राज्यका छवटा टाउनशिपमा बाढीले खतरा उत्पन्न गरेपछि सुरक्षित आश्रयस्थलहरू स्थापना गरिंदै छ–केइन राज्य सरकारका प्रवक्ता यू साउ खिन माउङ मिन्टलाई उद्धृत गर्दै सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
थानल्विन नदीसहित केइन राज्यका विभिन्न नदीहरूमा जल सतह बढेको छ भने केइन राज्यको राजधानी हपा–आन र मोन राज्यको राजधानी मावलामाइन जोड्ने प्रमुख सडकका केही भाग डुबानमा परेका छन् ।
यसबाहेक याङ्गुन र मावलामाइनबीच केही रेलमार्गहरू र मावलामाइनबीचको रेलवे ट्र्याकका खण्डहरू बाढीको कारण डुबानमा परेका छन् ।
देशको मौसम विज्ञान तथा जलविज्ञान विभागले यहाँका छवटा नदीमा खतराको स्तर नाघेको जनाएको छ ।
बागो क्षेत्रको मडौक शहर र बागो टाउनसिप, केइन राज्यको हपान टाउनसिप र काचिन राज्यको मोगाउङ टाउनसिपमा नदी किनार वा तल्लो क्षेत्रका बासिन्दालाई सम्भावित बाढीको जोखिमबाट सतर्क रहन मौसम विभागले चेतावनी पनि जारी गरेको छ ।
बागो निवासी को आय ह्लाले बिहीवार सिन्ह्वालाई प्रत्येक वर्ष बाढीको अनुभव गरे पनि यस वर्षको डुबान लगभग तीन वर्षयताकै सबैभन्दा ठूलो भएको बताएका छन् । “मेरो घरको भुइँतल्ला हाल डुबेको छ ।”
बागोका तल्लो क्षेत्रका केही बासिन्दालाई उच्च क्षेत्रहरूको खोजी गर्दै गुम्बा र आश्रयहरूमा सारिएको पनि उनले बताएका छन् । रासस