चिरञ्जीवी सापकोटा, ठोरी, २० साउन/

ठोरी गाउँपालिका वडा नं २ को राईधारामा सर्वमान्य नेता गणेशमान सिंहको सालिक अनावरण गरिएको छ ।

शनिवार आयोजित कार्यक्रममा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सालिक अनावरण गरेका हुन् ।

गणेशमान सिंह स्मृति प्रतिष्ठान ठोरीका अध्यक्ष प्रकाश खनालको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री रिजालले ठोरीको विकासका लागि प्रतिबद्धता व्यक्त गरे ।

ठोरीमा धेरै काम गर्न जरूरी रहेकाले प्राथमिकताका आधारमा विकास निर्माणका योजनाहरू तय गरी प्रपोजल तयार गरी अघि बढ्न गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठलाई आग्रह गरे ।

स्थानीय सरकार, मधेस सरकार र सङ्घीय सरकारसँगै मिलेर अघि बढ्नुपर्ने धारणा राख्दै मन्त्री रिजालले ठोरीका कृषकहरूलाई कृषि मिटरसम्बन्धी कार्यक्रममा स्थानीय सरकार र केन्द्र सरकार मिलेर कृषकहरूलाई सहुलियत दिने काममा आफूले पालिकालाई सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । नदी नियन्त्रण ठोरीको आवश्यकता भएकोले आफू प्रतिबद्ध रहेकोसमेत मन्त्री रिजालले उद्घोष गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ठोरी–२ का अध्यक्ष अमृतकृष्ण सापकोटाले मागपत्र मन्त्री रिजाललाई हस्तान्तरण गरे ।

अध्यक्ष सापकोटाले ठोरी–२ मा औद्योगिक ग्रामको स्थापना, ठोरी गापालाई वन्यजन्तु पर्यटकीय क्षेत्र घोषणा, नदी नियन्त्रण, ठोरी छोटी भन्सारको स्तरोन्नति तथा सञ्चालन, अधुरो हुलाकी सडक निर्माण कार्य सम्पन्न, गणेशमान पार्कको सौन्दर्यीकरण, भिखना ठोरीमा रेल पुनः  सञ्चालन, ठोरी १ र २ लाई जोड्ने ढेढुखोलामा पुल निर्माण लगायतका माग समेटिएका मागपत्र बुझाएका थिए ।

मागपत्र बुझ्दै मन्त्री रिजालले मागपत्रमा भएका सबै माग सम्बन्धित निकायलाई दबाब दिंदै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री रिजालले आजै ठोरी गाउँपालिकामा नवनिर्मित भवनको उद्घाटन तथा ठोरी–२ मा प्रजातन्त्र सेनानी परिवारबाट निर्माण भएको पञ्चेश्वर मुक्तिधामको प्रवेशद्वारसमेत उद्घाटन गरेका थिए भने अधुरो हुलाकी सडक अनुगमन र ठोरी छोटी भन्सारको अवलोकन गरेका थिए ।

ठोरी–१ मा रहेको वृद्धवृद्धा तथा असहाय समाज कल्याण आश्रम पुगी मन्त्री रिजाले १० क्विन्टल चामललगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।

२००७ सालमा ठोरीबाटै पक्राउ परेका सिंह २००७ सालको प्रजातन्त्रप्राप्तिपछि निर्माण भएको प्रथम मन्त्रिमण्डलमा उद्योगमन्त्री रहेका स्व सिंहको सालिक अनावरण भएकोमा ठोरीवासी गौरवान्वित भएका गणेशमान स्मृति प्रतिष्ठान ठोरीका अध्यक्ष प्रकाश खनालले बताए ।

सालिक अनावरण कार्यक्रममा मधेस प्रदेशका सांसद तथा नेपाली काङ्ग्रेस, पर्साका सभापति जनार्दन सिंह क्षत्री, प्रदेश सांसद शङ्करप्रसाद चौधरी, मधेस प्रदेशका नेपाली काङ्ग्रेसका महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ, ठोरी गापा अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नेपाली काङ्ग्रेसका नेता, कार्यकर्ता तथा ठोरीवासीको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here