प्रस, वीरगंज, २० साउन/
वीरगंज महानगरपालिकाले दर्ता नभई सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीसाधन रिक्शा, ई–रिक्शा, अटोरिक्शालाई कारबाही शुरू गरेको छ ।
महानगरमा दर्ता नगरेर सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएकोले सोको नियमपूर्वक सञ्चालनमा नगरपालिका कार्यालयले चासो देखाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा महानगरको सडक तथा यातायात व्यवस्था महाशाखाको संयुक्त टोलीले दुई दिनमा ४५ वटा तीन पाङ्ग्रे सवारीलाई कारबाही गरेको जनाएको छ ।
गत मङ्गलवार र बिहीवार टोलीले महानगरमा दर्ता नरहेको, रूट परमिट नलिएको, लाइसेन्स, ब्लुबूकविना सञ्चालित तीन पाङ्ग्रे सवारीसाधनलाई कारबाही गरेको महानगरको सडक तथा यातायात व्यवस्था शाखाका प्रमुख इन्जिनीयर विजय गुप्ताले बताए । उनीहरूलाई पहिलोपटकका लागि रू पाँच सय जरिवानामा छाडिएको उनले बताए ।
नगरक्षेत्रभित्र अहिले दुई हजारभन्दा बढी ई–रिक्शा, अटोरिक्शा, सवारी साधन अव्यवस्थित रूपमा सञ्चालनमा रहेको अनुमान गरिएको र महानगरमा भने केवल ६७० वटा मात्रै दर्ता रहेर इजाजत लिएका छन् ।
महानगरपालिकामा सवारी दर्ता नगरी सञ्चालन गरेको खण्डमा सवारी चालकलाई प्रथमपटक एक हजार जरिवाना तिराएर दर्ता गरेपछि मात्रै सवारी सञ्चालन गर्न पाउने व्यवस्था छ । जरिवाना नतिरेसम्म नगरभित्र सवारी सञ्चालनमा रोक लगाउन सकिने कार्यविधिमा उल्लेख छ । तर पनि व्यावहारिकरूपमा तीन पाङ्ग्रे सवारीलाई कम जरिवाना गरिएको महानगरले जनाएको छ । अटो चलाएरै घरपरिवार पाल्नुपर्ने कतिपयको समस्या देखेर जरिवाना कम गरेको इन्जिनीयर गुप्ताले बताए ।