ओमप्रकाश चौधरी, सेढवा, १९ साउन/
पर्साको ग्रामीण क्षेत्रका बासिन्दाहरूको साउन महीनामा विभिन्न धार्मिक एवं पर्यटकीय स्थलमा भ्रमण गर्न जाने क्रम बढेको छ ।
अधिकांश किसानले वर्षेबाली धानको रोपाइँ सकाएकाले उनीहरू खेतीपातीपछि नेपाल र भारतका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा निस्किन थालेका छन् । साउनमा विभिन्न स्थानका भगवान् शिवको धर्मस्थल तथा शक्तिपीठहरूको दर्शन गर्न किसानहरू खेतीपातीको झन्झटबाट मुक्त भएपछि धार्मिक यात्रामा निस्किएका हुन् । अहिले सामुदायिक विद्यालयहरूमा पनि वर्षे बिदा भएकाले शिक्षकहरू पनि भ्रमणमा छन् ।
आर्थिकरूपमा सम्पन्न शिक्षक, विद्यार्थीहरू पनि राजधानी काठमाडौं, पर्यटकीय गन्तव्य पोखरा, तानसेन, बुटवल, भैरहवा, लुम्बिनी, धरान, इलाम, झापालगायतका ठाउँहरूको भ्रमणमा गएका छन् । यसै महीनामा भारतका प्रसिद्ध बाबाधाम, वासुकीनाथ, अयोध्या, बनारस, कोलकाता, जगरनाथपुरी, गङ्गासागर, प्रयागराज, वैष्णोदेवीलगायतका धार्मिकस्थलहरूमा जाने गर्छन् । यस वर्ष नेपाल र भारतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्सा जिल्लाबाट जानेहरूको सङ्ख्या बढेको अनुमान गरिएको छ ।
जीराभवानी गाउँपालिका–२ का विजय यादवले करीब ४० जना धार्मिकयात्रीहरूलाई लिएर भारतका विभिन्न स्थानको भ्रमणका लागि प्रस्थान गरेको बताए । उनले बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, दिल्ली, पञ्जाब राज्यका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने बताए । भ्रमणका लागि भारतीय नम्बरको गाडी लिई यात्रीहरूलाई भारत लगेको यादवले बताए ।
धोबिनी गाउँपालिका वडा नं १ भिखमपुर निवासी महेशप्रसाद कुर्मीले सामाजिक सञ्जालमार्फत १० दिनका लागि भारत भ्रमणमा आएको बताए । वर्षभरि कामकाजमैं व्यस्त रहेकोले कमसेकम एकपटक देवीदेवताको दर्शन गर्ने तथा रमाइलो गर्नु आवश्यक रहेको कुर्मीले बताए ।
भ्रमणका क्रममा गोरखपुर, अयोध्या, कानपुर, गाजियाबाद, आगरा, लखनउ, हरिद्वार, ऋषिकेशलगायतका स्थानहरूका भ्रमण गर्ने योजना रहेको उनले बताए । यसका साथै भारतको दार्जिलिङ, सिक्किम र वैष्णोदेवीको दर्शनका लागि पनि मानिसहरू गइरहेका छन् ।
ग्रामीण क्षेत्रका मानिसहरू आर्थिक अवस्था अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको वार्षिकरूपमा अवलोकन भ्रमण गर्दै आएका छन् । वर्षभरिको तनाव भ्रमणबाट मेटिने अभिप्रायले सामथ्र्य अनुसारको यात्रा गर्ने क्रम पहिलेदेखि नै चल्दै आएको छ । यही साउन महीनामा जीराभवानी गापा अन्तर्गतको बाबा बटेश्वरनाथ काँवरिया सङ्घको आयोजनामा सयौंको सङ्ख्यामा कावरियाहरू त्रिवेणीमा जल भर्न जाने कार्यक्रम रहेको छ ।
यसका साथै पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत दुग्धेश्वर महादेव मन्दिर, रामभौरीभाथा र ठोरीको भ्रमण गर्ने पनि बढेका छन् । हुलाकी सडक निर्माण भएकोले पछिल्लो समय ठोरीको भ्रमण गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।