प्रस, वीरगंज, १८ साउन/
वीरगंजलगायत पर्सामा देखिएको पानीको समस्या समाधानबारे सरोकारवालाहरूसँगको एक दिने छलफल कार्यक्रम वीरगंजमा बिहीवार सम्पन्न भएको छ । कार्यक्रममा सङ्घीय सरकारका खानेपानीमन्त्री महेन्द्रराय यादवले पर्सामा देखिएको खानेपानीको समस्या साङ्केतिक नभई गहनरूपले सरकारले लिएको बताए ।
देशमा लामो समयदेखि भइरहेको चुरे दोहनका कारण जलवायु तथा वातावरण परिवर्तन भएर पर्सा मात्र होइन, सिङ्गो तराईमा नै पानीको हाहाकार भएको बताए । राज्यले यसलाई गहनरूपमा लिएको र उच्चस्तरीय टोली गठन गरी तराईका २२ वटा जिल्लालगायत देशभरिको पानीको समस्या निदानबारे सोधीखोजी गरिरहेको बताए ।
वीरगंज महागरले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले पर्सामा देखिएको तत्कालको समस्या समाधान गर्न स्वयम् स्थानीय सरकार अगाडि बढ्नुपर्ने र दीर्घकालीन समाधानका लागि दातृ संस्था जाइका र एडिबीको सहकार्यमा काम हुने बताए ।
तराईका जिल्लाहरूमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारले विनामापदण्ड चापाकलहरू जथाभावी वितरण गर्दा तराईमा भोलि अर्को सङ्कट आउने मन्त्री यादवले बताए ।
चापाकल जडान कार्यमा गुणस्तरहीन धाराका पाइप वितरण गर्दा तराईका अधिकांश जनता अहिले आर्सेनिकयुक्त खानेपानी पिउने बाध्य भएकाले त्यस्ता धारा वितरण प्रक्रिया अघि नबढाउन उनले निर्देशन पनि दिए । राज्यले स्वच्छ पानीको लागि गाउँगाउँमा ओभरहेड टङ्की निर्माण गरेको र बाँकी गापाहरूमा निर्माण कार्य भइरहेको मन्त्री यादवले जानकारी दिए । उनले खानेपानीको लागि चेकजाँच गरी टङ्की निर्माण गराउन जनप्रतिनिधिहरूलाई आग्रह गरेका थिए ।
खानेपानीको समस्या एक्लो नभई साझा समस्या भएकोले सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । निजी र सरकार मिलेर देशभरि खानेपानीको व्यवस्थापन भइरहेकाले वीरगंजमा देखिएको समस्याबारे सञ्चालक समितिको बैठक बसी जनशक्ति तथा बजेटको पहल गर्न आफू तयार रहेको मन्त्री यादवले बताए ।
कार्यक्रममा सङ्घीय सांसद प्रदीप यादवले वीरगंजमा देखिएको खानेपानीको समस्याबारे आफूले सरोकारवालाहरूसँग छलफल गरिरहेको बताए । वीरगंज हुँदै अन्य गापाहरूमा पनि धमाधम धाराहरू सुकिरहेका जानकारी पाएकोले आफूले सरकारलाई पटकपटक ध्यान आकर्षण गराए पनि मौन बस्नु चिन्ताको विषय भएको उनले बताए ।
कार्यक्रममा सङ्घीय सांसद अजय चौरसियाले खानेपानीको समस्याबारे संसद्मा आफूले जानकारी गराएको बताए । चालू आर्थिक वर्षमा आफ्नो संसदीय बजेटबाट रु एक करोड छुट्याइ खानेपानीको समस्या समाधान गर्ने बताए ।
त्यस्तै, खानेपानी कार्यालय कम्पनी लि., वीरगंजका प्रमुख नीरण महर्जनले वीरगंजमा देखिएको पानीको समस्या समाधानको लागि करोड रुपैयाँ आवश्यक रहेको बताए । तत्काल स्थानीय तहहरू एकजुट भई अगाडि बढ्न उनले सुझाएका थिए । महानगरका धेरै वडामा खानेपानी संस्थानको पाइप नरहेकोले त्यहाँका जनतालाई कसरी खानेपानी उपलब्ध गराउनेबारे महानगरले सोच्ने बेला आएको बताए । १ देखि ३२ वडाका लागि खानेपानीको बृहत् योजना केन्द्रीय कार्यालयमा पठाइसकेको उनले बताए ।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद श्याम पटेल, प्रमोद जायसवाल, अजय द्विवेदी, खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, महाप्रबन्धक ईश्वरप्रसाद मरासनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वडाध्यक्षहरूले नगरप्रमुख सिंहले पानी वितरण कार्यमा पक्षपात गरेको आरोप लगाएका थिए । आफ्नै बोर्डको बैठक ठानेर छलफल कार्यक्रममा एकअर्काविरुद्ध आरोप–प्रत्यारोप गरेका थिए । महानगरले कसैलाई डीप बोरिङमा रोक लगाउने तथा नातागोतामा रोक नलगाउने जस्ता गतिविधि रोक्न वडाध्यक्षहरूले सुझाव दिएका थिए ।
महानगरमा पानीको सङ्कट पर्दा वडाका जनप्रतिनिधिहरू पानी सङ्कटको समाधान गर्न लागिपरेको बेला एक्कासि सूचना निकाली धारा जडानमा रोक लगाउनु गलत भएको वडाध्यक्षहरूले बताए । जसपा जितेका वडाहरूमा पानीको वितरण सहज तथा एमाले र काङ्ग्रेस जितेका वडाहरूमा पानी वितरणमा ढिलाइ गर्नु गलत परिपाटी भएको उनीहरूले बताए ।