प्रस, वीरगंज, १८ साउन/
व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रूँगटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
आदेशसँगै रूँगटा अदालत परिसरमैं बेहोश भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ ।
घटनाको तीन महीनापछि बिहीवार रूँगटा चितवन जिल्ला अदालतमा आफैं हाजिर भएका थिए ।
अदालतका श्रेस्तेदार ईश्वर आचार्यले सो मुद्दामा रूँगटालाई पुर्पक्षका लागि थुनामा पठाइएको जानकारी दिए । जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले उक्त आदेश गरेको हो ।
व्यवसायी कँडेलले वैशाख १९ गते अनमोल फिड्सको कार्यालय बेलचोकमा झुन्डिएर आत्महत्या गरेका थिए । उनको मृत्युपछि परिवारले रूँगटा र जीवन रावलविरुद्ध किटानी जाहेरी दिएको थियो ।
रावललाई प्रहरीले वैशाख २२ गते पक्राउ गरी चितवन पुर्याइएको थियो । उनी उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् । कँडेलको मृत्युपछि रूँगटा फरार रहँदै आएका थिए । कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रूँगटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइड नोट’मा उल्लेख गरेका थिए ।